
रामेछाप । रामेछापमा निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको गाडी दुर्घटना हुँदा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ।
सोमबार अपराह्न भएको दुर्घटनामा ६ जना घाइते भएका छन् भने तीन जना गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन्। दुर्घटनामा एक जना असईको घटनास्थलमै ज्यान गएको हो। गाडीमा सवारमध्ये रामेछाप नगरपालिका–२ स्थित शीतलादेवी माध्यमिक विद्यालय मतदान केन्द्रका मतदान अधिकृत रवीराज खड्काका अनुसार उनीसहित तीन जना गाडीबाट हाम फालेर बाँच्न सफल भएका हुन्।
उहाँकाअनुसार घटनास्थलमै ज्यान गुमाउने नेपाल प्रहरीका असई आरपी यादव हुनुहुन्छ । उहाँको ठेगाना भने खुल्न सकेको छैन । रामेछाप नगरपालिका–२ स्थित वडा कार्यालय नजिकैको स्वामीडाँडा भीरबाट गाडी खसेको हो। दुर्घटनाग्रस्त गाडी वडा नं. २ स्थित शीतलादेवी मतदान केन्द्र तथा वडा नं. ३ स्थित साघुटार वडा कार्यालय मतदान केन्द्रका लागि निर्वाचन सामग्री र कर्मचारी लिएर जाँदै गरेको बताइएको छ।
घटनास्थल अप्ठेरो र भीरालो भएकाले गाडीको नम्बरसमेत खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले जानकारी दिनुभयाे।