एक दशकसम्म अधुरै जनकपुरधाम-भिठामोड सडक : ९३ करोडको आयोजना अलपत्र

स्थानीय आक्रोसित
फाल्गुन १७, २०८२ |विकास आर्या
एक दशकसम्म अधुरै जनकपुरधाम-भिठामोड सडक : ९३ करोडको आयोजना अलपत्र

महोत्तरी । महोत्तरी र धनुषा जिल्लालाई भारतीय सीमासँग जोड्ने जनकपुरधाम-भिठामोड सडकखण्ड समयमै निर्माण सम्पन्न नहुँदा नागरिकले दैनिक सास्ती भोग्दै आएका छन् । 

तीनवर्षमा सो सडकखण्डको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित सुरू गरिए पनि एक दशकमा पनि बन्न नसक्दा महोत्तरीका स्थानीय आक्रोसित छन् । महोत्तरीको निर्वाचन क्षेत्र २ र ३ तथा धनुषा क्षेत्र नम्बर ३ भएर भारतीय सीमापुग्ने जनकपुरधाम-भिठामोड सडकखण्डमा दैनिक पर्यटक र सर्वसाधारणका सयौं सवारी साधन आवतजावत गर्छन् । 

यो सडकखण्डले बर्षेनि करोडौं राजस्व असुली गरे पनि सडकको अवस्था भने जीर्ण छ । सडककाे थुप्रै ठाउँ खाल्डा-खुल्डी छन् भने साेही कारणा दैनिक दुर्घनटना हुने गर्छ । जलेश्वर नगरपालिकाका नन्दी दास यो सडकको निर्माण अविलम्ब सुरू हुनुपर्ने माग गर्दै एक दशक अगाडि आमरण अनसन बस्नुभयो। तर आज पनि सडक निर्माण सम्पन्न भएको छैन। 

हरेक निर्वाचनमा उम्मेदवारहरू अनेक वाचा गरेर जान्छन् तर कहिल्यै पूरा गर्न ध्यान दिँदैनन्। दल र उम्मेदवार विकासका एजेन्डा लिएर मतदाता माझ पुगिरहेका छन् । तर एक दशक बित्दा पनि सडक निर्माण अधुरै रहेकाले यहाँका मतदाता आक्रोसित भएका छन् ।

९३ करोड ४३ लाखको लागतमा निर्माण भइरहेको सो सडक दुई खण्डमा निर्माण गर्ने सम्झौता भएको थियो। पहिलो खण्डमा जनकपुरधास्थित जिरोमाइलदेखि महोत्तरीको पिपरासम्म ४३ करोड ५४ लाखमा निर्माण सम्झौता भएको थियो । त्यस्तै दोस्रो खण्डमा पिपरादेखि भिठामोडसम्म ९.५६ किलोमिटर सडक आशिष पप्पु रोशन जेभी ४९ करोड ८९ लाखमा सम्झौता गरेको थियो। 

पटक-पटक म्याद थप्दा पनि साइट क्लियरेन्स तथा बजेट अभावका कारण समयमै काम सम्पन्न हुन नसकेको सडक आयोजनाले जनाएको छ। २०७३ भदौ २४ गते तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने भन्दै सो सडक शिलान्यास भएको थियो । तर एक दशक बितिसक्दा पनि निर्माण सम्पन्न नहुँदा दिनहुँ हजारौं नागरिकले सास्ती भोग्दै आएका छन् ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।