मध्यपूर्वमा तनाव बढेपछि सरकारले अघि बढायो नेपाली उद्धारका लागि आपतकालीन संयन्त्र गठनको प्रक्रिया

आवश्यक परे अन्तर्राष्ट्रिय संस्थाहरुको समेत सहयोग लिइने
फाल्गुन १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
मध्यपूर्वमा तनाव बढेपछि सरकारले अघि बढायो नेपाली उद्धारका लागि आपतकालीन संयन्त्र गठनको प्रक्रिया

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि मध्यपूर्वमा तनाव बढेपछि सरकारले ती मुलुकमा रहेका नेपालीको सुरक्षाका लागि विभिन्न प्रक्रिया सुरू गरेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा सहसचिव रामकाजी खड्काले मध्यपूर्वमा रहेका नेपाली सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले परराष्ट्र सचिवको संयोजकत्वमा आपतकालीन उद्धार टिम बनाउने प्रक्रिया अघि बढेको पनि जानकारी दिनुभयो । 

उहाँले उद्धार गर्नुपर्ने प्रयोजनका लागि कन्सुलर सेवा विभागले एप विकास गरेको र पर्सीसम्म वेबसाइटमा उपलब्ध हुने जानकारी दिनुभयो । यस्तै, कन्सुलर सेवा विभागले २४ घन्टा हटलाइनकेा व्यवस्था गर्ने भएको छ भने छिमेकी तथा सम्बन्धित मुलुकले लिने तत्परतालाई हेरेर नेपाल फिर्ता ल्याउने खालका रणनीति लिइने परराष्ट्रले जनाएको छ । 

आवश्यक परे अन्तर्राष्ट्रिय आप्रवासन संगठन-आइओमसँग पनि सहयोग लिने परराष्ट्रले जनाएको छ । यसैबीच नेपालले वार्ता र कूटनीतिका माध्यमबाट मतभेद समाधान गर्न सबै पक्षलाई आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै अधिकतम संयम अपनाउन, तनाव बढाउनबाट जोगिन र नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ । 

नेपालले संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनअनुरूप सबै मुलुकको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्नेमा जोड दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.