निर्वाचनका लागि ६ दिन बाँकी- लुटिएका हतियार र फरार कैदीबन्दी नियन्त्रण गर्न विशेष संयन्त्र परिचालन

आयोगकाे तयारी अन्तिम चरणमा
फाल्गुन १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचनका लागि ६ दिन बाँकी- लुटिएका हतियार र फरार कैदीबन्दी नियन्त्रण गर्न विशेष संयन्त्र परिचालन

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन मतदानका लागि ६ दिन मात्रै बाँकी रहँदा दलहरूले चुनावी गतिविधि तिव्र पारेका छन् भने निर्वाचन आयोगले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएको छ ।

निर्वाचनलाई सुरक्षित र भयरहित बनाउन सरकारले लुटिएका हतियार र फरार कैदीबन्दी नियन्त्रण गर्न विशेष संयन्त्र परिचालन गरिएको छ । २४ भदौको प्रदर्शनका क्रममा लुटिएका हतियार र भागेका कैदीबन्दी-थुनुवा नियन्त्रण गर्न चारवटै सुरक्षा निकाले विशेष संयन्त्र परिचालन गरेका हुन् । 

आसन्न प्रतिनिधि सभा निर्वाचन सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यसाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र राष्ट्रिय अनुसन्धान विभागले आ-आफ्नो संयन्त्रलाई ७७ वटै जिल्लामा तैनाथ गराएका हुन् । ‘निर्वाचन एकीकृत सुरक्षा कार्ययोजना-२०८२’ ले जेलबाट भागेका कैदीबन्दी र लुटिएका हतियारलाई सुरक्षा चुनौतीका रूपमा राखेको छ । 

करिब ६ महिनाअघिको प्रदर्शनका क्रममा नेपाल प्रहरीका करिब १३ सय हतियार लुटिएका/हराएका थिए । तीमध्ये अझै चार सय हतियार फेला परेका छैनन् । प्रहरीका करिब १ लाख राउन्ड गोली पनि अभिलेखबाट हराएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.