निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

फाल्गुन १५, २०८२ |रासस
निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ ।

दोलखाको बैतेश्वर गाउँपालिकास्थित मतदान केन्द्रको शुक्रबार निरीक्षण तथा अनुगमनका क्रममा उहाँले विगतमा भएका कमजोरीलाई सच्याइ यसपटको निर्वाचन स्वच्छ, निष्पक्ष धाँधलिरहित बनाइने बताउनुभयो । मन्त्री अर्यालले निर्धक्कसाथ शान्तिपूर्वक निर्वाचन गराउनेगरी वातावरण बनाउन सम्बद्ध अधिकारीलाई निर्देशनसमेत दिनुभयो ।

निरीक्षणपश्चात् आयोजित कार्यक्रममा उहाँले सामाजिक सञ्जालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचना तथा खबरहरूबाट सचेत भएर आ-आफ्नो निर्वाचन क्षेत्रको तयारीमा जुट्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो । शुक्रबार बिहान गृहमन्त्री अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले गाउँपालिकाको मतदान केन्द्रको अनुगमनका साथै निर्वाचन सुरक्षाबारे छलफलसमेत गरेको थियो ।

अनुगमन टोलीमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजङग केसी, प्रहरी अतिरिक्त महानिरीक्षक गणेश ठाडा मगर, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले, सह-प्रवक्ता रमा आचार्य, प्रहरी नायब महानिरीक्षक विष्णु भट्ट, प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपाने, दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, बैदेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामालगायत सहभागी हुनुहुन्थ्यो ।

सह-प्रवक्ता आचार्यका अनुसार छलफलमा विसं २०७९ को स्थानीय निर्वाचन र प्रतिनिधि सभा निर्वाचनबारे जानकारी लिनुका साथै प्रतिनिधि सभाको निर्वाचन सुरक्षा योजनाबारे जानकारी दिइएको थियो । विगतमा मतदान केन्द्रमा भएको संवेदनशीलता र समस्यालाई ध्यान दिएर हाल विभिन्न नाकामा कडाइ गरिएको जनाइएको छ ।

त्यस अवसरमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न सबै सरोकार भएकाहरूको सक्रिय सहभागिताका लागि आग्रह गर्नुभयो । उहाँले विगत निर्वाचनको संवेदनशीलतालाई ध्यानमा रखोर निर्वाचन तयारी, सम्भावित समस्याको पहिचान गरी निर्वाचनपूर्वका काम सुनिश्चित र निर्वाचन सुरक्षालाई सुनिश्चित गर्न आग्रह गर्नुभयो ।

प्रमुख निर्वाचन अधिकृत न्यौपानेले निर्वाचनको विद्यमान अवस्थाबारे जानकारी दिँदै सुरक्षा निकायबीच समन्वय भइरहेको र विगतका मतदानमा अवरोध गर्नेमाथि निगरानी बढाइएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी घिमिरेले जिल्लाको निर्वाचन अवस्थाबारे जानकारी गराउनुभएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले जिल्लाको सुरक्षाबारे जानकारी दिनुभएको थियो ।

बैदेश्वर गाउँपालिकामा आठ मतदानस्थल, २१ मतदान केन्द्र र मतदाता सङ्ख्या १८ हजार ४२२ रहेको छ । त्यस क्षेत्रमा ९० देखि ९५ प्रतिशत मत खस्ने गरेको छ ।