संखुवासभाका ज्येष्ठ नागरिक फेरि मतपेटीकासामू उभिन आतुर

फरक परिस्थितिमा निर्वाचनले लोकतन्त्र सुदृढ बनाउने विश्वास
फाल्गुन ८, २०८२ |दीपेन्द्र शाक्य
संखुवासभाका ज्येष्ठ नागरिक फेरि मतपेटीकासामू उभिन आतुर

संखुवासभा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देशभर चुनावी चहलपहल बढेको छ । 

विशेष परिस्थितिमा हुन लागेको यो निर्वाचन युवाहरूका लागि मात्र नभइ राजनीतिक परिवर्तनका अनेक चरण पार गरेका वृद्ध-वृद्धाका लागि पनि उत्तिकै अर्थपूर्ण बनेको छ । लोकतन्त्रका उतारचढाव आफ्नै आँखाले देख्दै आएका संखुवासभाका ज्येष्ठ नागरिक सुशासनको पक्षमा फेरि एकपटक मतपेटीका सामू उभिन आतुर देखिन्छन् ।

संखुवासभा पाँचखपनका ७१ वर्षीय तेजराज पुरी पञ्चायतकालदेखि बहुदलीय व्यवस्था, जनआन्दोलन हुँदै गणतन्त्रसम्मका राजनीतिक मोडका साक्षी हुनुहुन्छ । विगतमा सातवटा निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरिसक्नुभएका पुरी यसपटक भने केही फरक उत्साहमा हुनुहुन्छ । 

उहाँ हाम्रा भन्दा पनि बदलिँदो नेपालका मूल मुद्दा र समयसापेक्ष विधिको शासन र लोकतान्त्रिक प्रणाली बलियो बनाउने उम्मेदवारलाई भोट हाल्ने पक्षमा हुनुहुन्छ । पुरी जस्तै यहाँका अधिकांश ज्येष्ठ नागरिक मताधिकार प्रयोग गर्ने दिनको प्रतिक्षामा छन् । 

अघिल्ला चुनावभन्दा फरक सन्दर्भ र परिस्थितिमा हुन लागेकाले धेरैपटक मतदान गरिसकेकाहरू पनि मतदानका लागि थप उत्साहित भएका छन् । मतदान अधिकार मात्र नभइ भविष्यको पुस्ताका लागि जिम्मेवारी पनि हो । लोकतन्त्र सुदृढ बनाउन युवा पुस्ताले समेत सक्रिय सहभागिता जनाउनुपर्ने अग्रज र अनुभवीहरूको सुझाव छ । 

राजनीतिक परिवर्तनका अनेक चरण पार गरेका ज्येष्ठ नागरिकका लागि फागुन २१ चुनावको दिन मात्र नभइ लोकतन्त्रप्रतिको विश्वास पुनः अभिव्यक्त गर्ने अवसर पनि बनेको छ । संखुवासभामा यस पटकको निर्वाचनमा १ लाख १९ हजार ६३० मतदाता निर्वाचनमा सहभागी हुँदैछन् ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।