
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा महाशिवरात्रिको अवसर पारेर स्वर्गीय राजा महेन्द्रको सालिक पुनःस्थापना गरिएको छ ।
करिब दुई दशकदेखि विवाद र बहसको विषय बन्दै आएको उक्त सालिक नयाँ पुस्ताका युवाहरूको पहलमा पुनः स्थापित गरिएको हो । २०६३ साल माघ २७ गते राति सालिक तोडिएको थियो । त्यसयता समय समयमा पुनः स्थापना गर्ने चर्चा चले पनि सहमति जुट्न सकेको थिएन ।
सालिक पुनः स्थापना गर्ने विषयमा मतभेद देखिए पनि स्थानीय युवाहरूले अग्रसरता लिँदै सालिक पुनः स्थापना गरेका हुन् । महेन्द्रनगरस्थित महेन्द्र स्मारक क्षेत्रमा गए राति विशेष भजन कीर्तनसमेत कार्यक्रम आयोजना गरिएको थियो । धार्मिक आस्थासँगै ऐतिहासिक स्मृतिलाई जोड्दै आइतबार ब्रह्ममुहूर्तमा सालिक पुनः स्थापना गरिएको युवा अभियन्ता मनिष भट्टले जानकारी दिनुभयो ।