जिप्रका भक्तपुरद्वारा मतदान स्थल र केन्द्रकाे निरीक्षण

माघ २८, २०८२ |सुन्दर शिल्पकार
जिप्रका भक्तपुरद्वारा मतदान स्थल र केन्द्रकाे निरीक्षण

भक्तपुर । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरले मतदान केन्द्रको निरीक्षण गरेको छ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले भक्तपुरका दुईवटा क्षेत्रभित्र पर्ने चारवटै नगरपालिकामध्ये तीनवटा मतदान केन्द्रहरू निरीक्षण गरेकाे हाे । निरीक्षणका क्रममा भक्तपुरका अधिकांश मतदान केन्द्रहरू खुल्ला ठाउँमा रहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो । 

भक्तपुरका भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकाका मतदान केन्द्रहरू पुरानो बस्तीभित्रका चोक, मठमन्दिर र पाटीपौवा सत्तल आदिमा मतदान स्थलहरू रहेको प्रजिअ ढकालले बताउनुभयो । भक्तपुरका अन्य मतदान केन्द्रहरू भने शिक्षण संस्थाहरू, नगरपालिका, वडा कार्यालयहरूमा तोकिएका छन्। 

खुल्ला ठाउँमा रहेका मतदान केन्द्रहरू सुरक्षाको दृष्टिकोणले चुनौतीपूर्ण रहे पनि विगतमा जस्तै सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा रणनीति तयार पार्ने प्रमुख जिल्ला अधिकारी ढकालको भनाइ थियो। प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार अहिलेसम्म तीनवटा पालिकाको मतदान स्थलहरू निरीक्षण गरिसकेको र चांगुनारायण नगरपालिकाभित्रका मतदान स्थलहरू निरीक्षण गर्न बाँकी छ। 

मतदान स्थल निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारीसहित मुख्य निर्वाचन अधिकृत जिल्ला निर्वाचन कार्यालयका प्रमुख र तीनवटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। भक्तपुरमा २ लाख ५ हजार ४१० मतदाता रहेका छन्। यस्तै ७६ मतदानस्थलमा २ सय ३३ मतदान केन्द्र तोकिएको छ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।