रामेछाप बस दुर्घटना : क्षतिपूर्तिकाे माग गर्दै मृतकका आफन्तद्वारा मन्थली-खुर्कोट सडक अवराेध

माघ २८, २०८२ |नवराज श्रेष्ठ
रामेछाप बस दुर्घटना : क्षतिपूर्तिकाे माग गर्दै मृतकका आफन्तद्वारा मन्थली-खुर्कोट सडक अवराेध

रामेछाप । मन्थलीमा भएकाे बस दुर्घटनामा ज्यान गुमाएका मृतकका आफन्तले क्षतिपूर्ति माग गर्दै बुधबार बिहानबाट मन्थली-खुर्कोट सडक अवरोध गरेका छन्। 

दुर्घटनामा संलग्न सवारीका व्यवसायी तथा यातायात समिति सम्पर्कमा नआएको भन्दै आक्रोशित आफन्तले सडक बन्द गरेका हुन्। काठमाडौंबाट मन्थली-खुर्कोट पुष्पलाल सडक हुँदै रामेछापको सिरिसे ढाँडे भएर ओखलढुङ्गातर्फ आउँदै गरेको बा.प्र ००१–०५ ख ९९७५ नम्बरको (पूर्व अरनिको यातायात प्रालि) यात्रुवाहक बस मंगलबार बिहान मन्थली नगरपालिका–६ स्थित बेनीघाट पुल नजिक दुर्घटनामा परेको थियो। 

अनियन्त्रित भएको बस सडकबाट खसेर तामाकोसी नदीमा डुबेको थियो। उक्त दुर्घटनामा १२ जनाको ज्यान गएको थियो भने चालकसहित ८ जना घाइते भएका थिए। दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषी व्यवसायीलाई तत्काल सम्पर्कमा ल्याइ छानबिन गरी कानुनी कारबाही गर्न माग गर्दै आफन्तले सडक अवरूद्ध गरेका हुन्। 

सदरमुकाम मन्थलीस्थित अकासे र भैसेश्वर क्षेत्रमा सडक अवरूद्ध हुँदा मन्थली-खुर्कोट तथा आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ। आफ्नो दुई सन्तानको शव भेटिएको र दुई नातिहरू अझै हराइरहेको पीडा सुनाउँदै लिखुतामाकोसी-७ का शुकमान तामाङले तत्काल यातायात समिति र बस चालकलाई झिकाएर कारबाही हुनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, 'चार जना परिवारका सदस्य परेकोमा दुई जनाको शव भेटिएको छ । दुई जना नातिहरूको अझै अवस्था थाहा छैन । यस्तो बेलामा स्थानीय प्रशासनले पनि पीडितलाई न्याय दिलाउने कुनै कदम चालेको छैन । अब यातायात समिति र बस व्यवसायी सम्पर्कमा आएर माग पूरा भएपछि मात्रै सडक खुल्छ ।῎


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।