
काठमाडौं । असुरक्षाका कारण गाउँमा बस्ने वातावरण नभएको भन्दै ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेका बासिन्दा गाउँघर छाड्न थालेका छन् । सरकारले सुरक्षाको अनुभूति हुने अवस्था सिर्जना नगरे फागुन २१ गतेको निर्वाचनमा मत हाल्न पनि नफर्कने उनीहरुको चेतावनी छ ।
एक महिनाभित्र चार जनाको हत्या भएपछि असुरक्षित महसुस गरेका गाउँलेले भेला गरेरै पीडितलाई न्याय र सुरक्षाको प्रत्याभूति नभएसम्म निर्वाचनमा भाग नलिने घोषणा गरेका हुन् । उनीहरुले गाउँमा राजनीतिक सभा, जुलुस तथा भेला आयोजना नगर्न दलहरूलाई आग्रह गर्दै सहभागी नहुने निर्णय पनि गरेका छन् । असुरक्षा बढ्दै गएपछि गाउँलेहरु काठमाडौं र धरानतिर जान थालेको र आफन्त हुनेहरूले गाउँ छोडिरहेको चिशंखुगढी गाउँपालिका–६ का वडाध्यक्ष बलराम कटुवालले जानकारी दिनुभयो ।
भदौरेको बोहोरे टोलमा गतसाता ८१ वर्षका चन्द्रविक्रम राई र उहाँकी श्रीमती चन्द्रमाया राईको विभत्स हत्या भएको थियो । तर घटनाका दोषीको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । त्यसयता गाउँमा चोरीका घटना बढेका र एक्लै बस्न नसक्ने अवस्था भएपछि सामुहिक रुपमा एकै ठाउँमा आलोपालो रात कटाउनुपर्ने अवस्था आएको गाउँलेको भनाइ छ । लगातार हत्या, लुटपाट र हिंसाका घटनापछि गाउँलेहरूले पीडित परिवारलाई न्याय र आफूहरुको जीउधनको सुरक्षाको माग गर्दै संघर्ष समिति र सुरक्षा समितिसमेत गठन गरेका छन् ।
चिशंखुगढीमा एक महिना अघि पनि एक दम्पत्तिको हत्या भएको थियो । उक्त घटनामा भने प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।