
काठमाडौं । नेपाली सेना निर्वाचन अवधिभरका लागि देशभरका कारागारको सुरक्षाका खटिने भएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल एपीएफ निर्वाचन सुरक्षामा खटिने भएकाले देशभरका कारागारको अस्थायी सुरक्षाका लागि सेना खटाइएको हो । करिब ८० हजार जनशक्ति रहेको प्रहरीका ७१ र एपीएफका ३७ हजार जनशक्ति आसन्न निर्वाचनका लागि परिचालन हुँदैछन् । त्यसैले केही प्रहरी मात्र कारागारमा रहने भएकाले अस्थायी रुपमा सेना परिचालन गरेर कारागारको सुरक्षा व्यवस्था मिलाउन लागिएको हो ।
निर्वाचनको भित्री र त्यसपछिको सुरक्षामा प्रहरी र सशस्त्र प्रहरी परिचालन हुने गृह मन्त्रालयले जनाएको छ । यसका लागि कार्यालय, ब्यारेक र प्रशासनिक काममा कम जनशक्ति र अपराध अनुसन्धानमा राखेर बाँकी प्रहरी र सशस्त्रलाई निर्वाचन सुरक्षामा केन्द्रित गराउन लागिएको हो । सोही अन्तरगत प्रहरी र सशस्त्र प्रहरीले दिँदै आएको कारागार सुरक्षा जिम्मेवारी मतदान सम्पन्न भएर नफर्किएसम्म सेनालाई दिन लागिएको हो । नेपाली सेनाका सहायक रथी राजाराम बस्नेतले देशभरका कारागारमा सेना खटिन लागेकाले प्रहरी र सशस्त्रबाट बरबुझारथको काम जारी रहेको जानकारी दिनुभयो । ठूला, मझौला र साना गरी देशभर ७५ कारागार रहेका छन् । करिब एक लाख जनशक्ति रहेको सेनाका ८० हजार जनशक्ति चुनावी सुरक्षाका लागि परिचालन भएको सहायक रथी बस्नेतले बताउनुभयो ।