
गत वर्ष सन् २०२५ को जलपक्षी गणनामा नेपालमा ९४ प्रजातिका ९६ हजार ५६५ जलपछी अभिलेखिकरण भएको थियो । सन् २०२६ को गणनाबाट ८९ प्रजातिका ९० हजार ६८८ वटा जलपक्षी अभिलेख भएका छन् । त्यसभन्दा पनि अघिका गणनामा एक लाख बढी नै प्रजाति अभिलेख भएका थिए ।
वाटरल्याण्ड इन्टरनेशनलको सहकार्यमा भारतीय महाद्विपमा एसियास्तरीय जलपक्षी गणना सन् १९८७ देखि सुरु गरिएको हो । गणनालाई सहयोग पुर्याउन नेपालले सन् १९८७ देखि जलपक्षी गणनामा निरन्तर सहभागिता जनाउँदै आएको छ । अत्यधिक चिसो हुने रुस, उत्तरी चीन, मङ्गोलिया, साइबेरियालगायतका क्षेत्रबाट जलपक्षी यस याममा अनुकूल तापक्रमको खोजीमा नेपाल आउने गर्छन् । चिसो क्षेत्रबाट हजारौँको सङ्ख्यामा चरा जाडो छल्न अनुकूल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा भारतको राजस्थानसम्म पुग्ने गर्छन् । फर्किँदा भने पाकिस्तान, अफगानिस्तानको बाटो प्रयोग गर्छन् ।
जलपक्षी गणनाको मुख्य उद्देश्य बसाइँ सराई गर्ने र पानीमा बस्ने चराको प्रजनन् नहुने समयमा गणना तथा अनुगमन गरी संख्यासहित सिमसार क्षेत्रको अवस्थाबारे थाहा पाउनु, पानीमा बस्ने चरा र सिमसार क्षेत्रको महत्व, तिनको संरक्षण तथा व्यवस्थापनमा आम नागरिकलाई सहभागी तथा जानकारी गराउनु रहेको छ ।
यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व तथा नेपाल पक्षीविद् संघको संयोजनमा देशभरका १८ प्रमुख सिमसार क्षेत्र र सो अन्तर्गतका ७८ वटा साना क्षेत्रमा जलपक्षी गणना गरिएको नेपाल पन्छिविद् सङ्घका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद पौडेलले जानकारी दिनुभयो । गणनामा ४ सय ११ स्वयंसेवक गणक (कर्मचारी, चराविद, प्रकृतिप्रेमी, स्वयंसेवी, नागरिक वैज्ञानिक)बाट पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क सङ्कलन गरी विश्व सिमसार दिवस (२ फेब्रुअरी)मा सार्वजनिक गरिएको थियो ।
सिमसार अतिक्रमणले जलपक्षीको आहारामा कमीले जलपक्षीको सङ्ख्या विश्वमै कम देखिएको कार्यकारी निर्देशक पौडेलले बताउनुभयो । नेपालमा पनि सिमसार क्षेत्रमा मानवीय गतिविधि तथा पूर्वाधार निर्माण बढेको, मिचाहा प्रजातिले ताल ढाकेको, कृषिमा रासायनिक मल र विषादीको प्रयोग बढेका कारण पनि जलपक्षी यहाँ कम समय व्यतित गर्ने गरेका हुन सक्ने उहाँको भनाइ छ ।
विगतका वर्षमाझैँ यस वर्ष पनि कोशीटप्पु वन्यजन्तु आरक्ष र यस वरीपरी, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज र सो वरपर, धनुषाधामका तालतलैया र कमला नदी, हेटौँडा, काठमाडौँ उपत्यका, पोखरा उपत्यका, लुम्बिनी क्षेत्र, बिसहजारी ताल, घोडाघोडी ताल, रारा ताल, जगदीशपुर रिजर्भ्वायरलगायतका क्षेत्रमा जलपक्षी गणना गरिएको कार्यकारी निर्देशक पौडेलले बताउनुभयो । जलपक्षी गणनामा विभिन्न राष्ट्रिय निकुञ्ज/वन्यजन्तु आरक्ष/संरक्षण क्षेत्र कार्यालय, डिभिजन वन कार्यालय तथा सङ्घ संस्थाको सक्रिय सहभागिता थियो ।
निकुञ्ज विभागका सूचना अधिकारी हरिभद्र आचार्यले नदीनाला, तालतलैया र सिमसार क्षेत्रमा बढ्दो मानवीय गतिविधि तथा बढ्दो विषादी प्रयोगका कारण जलपक्षीको आहारमा कमी आएको बताउनुभयो । 'सुरक्षित बासस्थान र आहाराको खोजी जलपक्षीले नयाँ स्थान खोज्ने गरेको हुन सक्छ' उहाँले भन्नुभयो । वरिष्ठ इकोलोजिष्ट आचार्यका अनुसार नेपालमा पछिल्लोपटक मानवीय गतिविधिको अतिक्रमण र जलवायु परिवर्तनका असरले सिमसार क्षेत्रको क्षेत्रफल र गुणस्तर घट्दै गइरहेको छ ।
सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, कीटपतङ्ग र बोटबिरुवाका लागि महत्त्वपूर्ण बासस्थान हो । सिमसार क्षेत्रमा अव्यवस्थित रूपमा गरिने विकास निर्माणका पूर्वाधार, सिमसार क्षेत्र नजिक बढ्दो जनसङ्ख्या, बढ्दो प्रदुषण, फोहरमैला सोझै नदी र सिमसार क्षेत्रमा विसर्जन गर्ने प्रवृत्तिलगायत चुनौती थपिएको छ । यसले जलपक्षीको बासस्थानको विनाश हुने गरेको पक्षी संरक्षणकर्मी हिरुलाल डगौराले बताउनुभयो ।
चराविद्का अनुसार यी जलपक्षी यात्राका क्रममा बाटोमा पर्ने तालमा आराम गर्दै आउँछन् । तर क-याङकुरुङ सारस भने प्रतिकूल मौसमबाहेकको अवस्थामा निरन्तर सयौँ किलोमिटर उडेर यात्रा गर्छ । यी चरा नेपाल आउने क्रम भदौ मध्यदेखि पुस मध्यसम्म चल्छ । चैतसम्म भने प्रायःचरा आफ्नो स्थायी बसोबासस्थलमा प्रजननका लागि फर्कने गर्छन् । नेपालमा हिउँदमा बसाइँसरी आउने पानी चरामा हाँस, जलेवा, गङ्गा चील आदि प्रजाति पर्छन् ।