मधेशमा शीतलहरको प्रकोप : तीन दिनदेखि घाम नलाग्दा जनजीवन कष्टकर

माघ १७, २०८२ |अनिल मिश्र
मधेशमा शीतलहरको प्रकोप : तीन दिनदेखि घाम नलाग्दा जनजीवन कष्टकर

जनकपुर । मधेश प्रदेशमा लगातार तीन दिनदेखि चलेको चिसो हावा र शीतलहरका कारण घाम नलागेपछि जनजीवन कष्टकर बनेको छ । 

हिमाली र उच्च पहाडी जिल्लाहरूमा हिउँ र पानी परेपछि बिहीबार रातिदेखि नै एक्कासी चिसो बढेर शीतलहरको अनुभूति हुन थालेको छ । जसले गर्दा पुनः पुस जस्तै चिसो सिरेटो र शीतलहर चलेर जनजीवन कष्टकर बनेको हो । गएको बुधबारसम्म घाम लागे पनि पछिल्लो समय मौसममा अचानक आएको परिवर्तनले जनकपुरलगायतको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियसमा झरेको छ। 

बाक्लो कुहिरो र हुस्सुले गर्दा घाम नलागि निकै चिसो बढेपछि विशेष गरी बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी र विपन्न समुदाय बढी प्रभावित भएका छन्। पर्याप्त ओढ्ने-ओछ्याउने न्यानो कपडा नहुँदा विपन्न समुदायको दैनिकी कष्टकर हुनुका साथै  भिजिविलिटी अभावमा सडक र हवाई यातायात समेत प्रभावित भएको छ । 

जाडो बढेसँगै धनुषा महोत्तरी, सिरहा, सप्तरी रौतहटलगायतका जिल्लाहरूमा स्थानीयहरूले आगो तापेर चिसो छल्ने प्रयास गरिरहेका छन्। 


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।