देश तरकारी छानेको जस्तो होइन, भरपर्दो पार्टी र व्यक्तिलाई चुन्न नसके प्रयोगशाला बन्छ : प्रवक्ता चालिसे

माघ १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
देश तरकारी छानेको जस्तो होइन, भरपर्दो पार्टी र व्यक्तिलाई चुन्न नसके प्रयोगशाला बन्छ : प्रवक्ता चालिसे

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले भरपर्दो मानिस र पार्टीलाई देश सुम्पिन नसके प्रयोगशाला बन्ने निश्चित रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टी कहिल्यै पुरानो नहुने बताउनु भयो । अहिले नेपाली कांग्रेस नयाँ अनुहार, नयाँ सिद्धान्त र नीति बोकेर अघि बढिरहेको जिकिर गर्नुभयो । 

उहाँले कांग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये १०६ वटामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको पनि बताउनु भयो । उहाँले अहिले भरपर्दो भविष्य हेर्ने बेला भएकाले कोही पनि उत्तेजनामा नआउन आग्रह गर्नुभयो । देश तरकारी चाखेको जस्तो नभएको भन्दै भरपर्दो पार्टीलाई सुम्पिनुपर्ने उहाँकाे भनाइ छ । कुनै कुरा मन परेन भन्दैमा आफ्नो भविष्य खाल्डोमा हाल्न नहुने उहाँले बताउनु भयो ।

प्रवक्ता चालिसेले अहिले हरेक नागरिकले देशप्रति माया गर्ने बेला भएको बताउनु भयो । विवेक र संयमले निर्णय गर्ने बेला आज रहेको उहाँले बताउनु भयो । जनतालाई मालिक बनाउने प्रणाली स्थापित गरेर कांग्रेस अघि बढ्ने उहाँकाे भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.