पाल्पाको बगनासकालीका कुमाल समुदायको छैन आधारभूत सुविधामा पहुँच

नेताहरूले भोट बैंकमात्रै बनाउने गरेको गुनासो
माघ १३, २०८२ |माधव अर्याल
पाल्पाको बगनासकालीका कुमाल समुदायको छैन आधारभूत सुविधामा पहुँच

पाल्पा । पाल्पा सदरमुकाम तानसेनदेखि पाँच किलोमिटर टाढा पर्छ, बगनासकाली गाउँपालिकास्थित चिर्तुङधाराको घोरबन्दा गाउँ । 

यहाँ १ सय २५ घरपरिवार कुमाल बस्ती छ। त्यसमध्ये झन्डै आधा न्यूनतम आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्ने अवस्थामा छन् । शिक्षा र चेतनास्तर कमजोर छ। नेताहरूले यो समुदायको जीवनस्तर उकास्नुको साटो हरेक निर्वाचनमा भोट बैंक बनाउने गरेका छन् ।

६४ वर्षीय थमन कुमाललाई हिँड्डुल गर्न समस्या छ । तानसेन बजारसँगै जोडिएको पाल्पा चिर्तुङधारास्थित घोरबन्दाका थमन ज्याला मजदुरी पनि गर्न सक्नुहुन्न । कहिँकतै जान नसक्ने हुनाले उहाँले अपांगता परिचयपत्र बनाउन पनि निकै सकस खेप्नु पर्‍यो ।

निर्वाचनका बेला गाउँमा आउने नेता, कार्यकर्ता तथा उम्मेदवारलाई यहाँका कुमाल समुदायले आफ्ना गुनासो सुनाउन छाड्दैनन् । तर अहिलेसम्म विपन्न, गरिबका लागि कसैले सहयोग नगरेको गुनासो गर्छन् । घोरबन्दाका कुमाल बस्तीका बासिन्दाका अनेकौँ समस्या छन् । हरेकपटक प्रलोभन देखाउँदै गाउँमा भोट माग्न आउने नेताहरू चुनावपछि नआउने समस्या छ ।

कुमाल गाउँमा सडक र खानेपानीमा केही सुधार नभएको हैन । तर सिँचाइको राम्रो व्यवस्थापन नहुँदा वर्षमा एक बाली मात्र उत्पादन हुन्छ । सदरमुकाम तानसेन र गाउँघरमै मजदुरी गरेर गुजारा चलाउने घोरबन्दाका कुमाल समुदायका युवाले पछिल्लो समयमा मजदुरीसमेत नपाएको गुनासो गर्छन् ।

संघीय र प्रदेश सरकारका योजनाबाट यो समुदाय बेखबर छ । तर स्थानीय सरकारले भने केही घरपरिवालाई जस्तापाता दिएको, सीपमूलक तालिम सञ्चालन गरेको छ । तर यति प्रयासले न चेतनास्तर बढ्न सकेको छ न त जीवनस्तर सुधार नै भएको छ ।समुदायका केही व्यक्तिले सरकारी स्रोतमा पहुँच पुर्‍याउन सकेका छन् । तर आधाभन्दा बढी नागरिक भने आधारभूत सुविधाबाटै वञ्चित छन् । 

भोट माग्न आउँदा गरेका वाचा नेताहरूले बिर्सिंदा यो समुदाय आर्थिक सामाजिक स्तर जस्ताको तस्तै छ ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।