
काठमाडौं । विदेशी पर्यटकलाई नक्कली उद्धार कागजात तयार पारी ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल चार्टर सर्भिसका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, माउन्टेन रेस्क्युका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल, प्रवन्धक विवेक पाण्डे, एभरेस्ट एक्स्पेरेन्स एन्ड एसीस्टका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्ड र सञ्चाल एवं प्रवन्धक सुभाष केसी पक्राउ गरी थप अनुसन्धान सुरू गरिएको जानकारी गराएको हो ।
करिब दुई महिनायताको सघन अनुसन्धानपछि उनीहरूलाई प्रक्रिया गरिएको र अरू शंकास्पदहरूको पनि अनुसन्धान भइरहेको सीआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीले बताउनु भयो । उहाँले भन्नुभयो,‘उनीहरूलाई राष्ट्रहित विपरितको गतिविधिमा समेत संलग्न भएको अभियोगमा मुद्दा चलाइनेछ । र, अरू यस कार्यमा संलग्नहरूको पनि प्रमाणको खोजी भइरहेको र सो पाउने वित्तिकै पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइनेछ ।’
नेपालमा पर्वतारोहण तथा ट्रेकिङ क्षेत्रमा नक्कली उद्धार कागजात बनाएर विदेशी पर्यटकहरूलाई ठगी गर्ने गरेको भन्ने उजुरीको आधारमा आफूहरूले अनुसन्धानको कामलाई तीव्रता दिएको प्रहरीले जनाएको छ ।