राष्ट्रिय सभाका रिक्त १७ सिटका लागि भएकाे मतदान सम्पन्न

मतगणना केहीबेरमै
माघ ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय सभाका रिक्त १७ सिटका लागि भएकाे मतदान सम्पन्न

काठमाडौं । राष्ट्रिय सभाका रिक्त पदका लागि भएकाे मतदान सम्पन्न भएकाे छ । 

आइतबार बिहान ९ बजेदेखि मतदान भएको हो । केही बेरमै मतगणना सुरू हुने निर्वाचन आयोगले जनाएको छ । कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आइतबार मतदान भएकाे हाे । कोशी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ । बागमतीमा ९४ प्रतिशतभन्दा बढी मत खसेको छ ।

कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेश प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान केन्द्र निर्धारण गरिएको छ । 

त्यसैगरी, गण्डकीको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनीको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णालीको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिमको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान सम्पन्न भएकाे छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ । कांग्रेस, एमाले र जसपा नेपालले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेर सिट बाँटफाँट समेत गरिसकेका छन् । 

तीन दलवीचको सहमति अनुसार कांग्रेसलाई ९ एमालेलाई ८ र जसपा नेपाले १ सिट भागबन्डा गरेको छ । नेपाली कम्युनिष्ट पार्टी र जनमोर्चा एक्लै चुनावी मैदानमा उत्रिएका छन् । प्रदेश सभा सदस्यको मतभार ५३ रहेको छ भने पालिका तथा गाउँपालिका प्रमुख-उप्रमुखको मतभार १९ रहेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.