
काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा बुधबार उजुरी दिन सकिने छ ।
उम्मेदवारको विरोधमा उजुरी दिन बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय तोकिएको छ । बुधबार अपराह्न ३ बजेदेखि बिहिबार बेलुका ५ बजेसम्म उम्मेदवारउपर परेको उजुरीमाथि जाँचबुझ गरिने छ । बिहिबार नै साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।
माघ ९ गते शुक्रबार नाम फिर्ता लिन चाहने उम्मेदवारले १० बजेदेखि १ बजेसम्म फिर्ता लिन सक्नेछन् भने सोही दिन नै अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभर उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारी मनोनयन भएको छ ।
प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमा हुने चुनावका लागि देशभर ३ हजार ४ सय ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जेन-जी आन्दोलनपछि हुन लागेको निर्वाचनलाई राजनीतिक रूपमा परिवर्तन र रूपान्तरणको जनमतका रूपमा हेरिएको छ ।