निर्वाचन नजिकिँदै जाँदा पनि पाल्पाका ग्रामीण भेगमा चासो न्यून, नेताप्रति बढ्दो निराशा

माघ ६, २०८२ |माधव अर्याल
निर्वाचन नजिकिँदै जाँदा पनि पाल्पाका ग्रामीण भेगमा चासो न्यून, नेताप्रति बढ्दो निराशा

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदा पाल्पाको दूरदराजका नागरिक भने बेखबरजस्तै छन् । 

सहरी मतदातामा उम्मेदवार को आउने हुन् र कस्ता उम्मेदवारलाई मत दिने भन्ने छलफलमा लागिसक्दा ग्रामीण भेगका मतदातालाई भने निर्वाचनबारे खासै चासो छैन । पाल्पाको निस्दी गाउँपालिका-३ झिरुवास खादरकी पुनीसरा सोमैलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनबारे जानकारी छैन । 

रेडियो नसुन्ने, सामाजिक सञ्जाल नहेर्ने र गाउँमा पनि कुनै चर्चा नचलेकाले होला अहिलेसम्म उहाँले चुनावबारे जानकारी पाउनुभएको छैन। दिलमाया सारूलाई भने निर्वाचन हुँदैछ भन्नेसम्म जानकारी छ । दुवै जनाको चाहना गाउँको विकास गर्ने, आयआर्जन, रोजगार बढाउने नेतालाई भोट दिनपाए हुन्थ्यो भन्ने छ ।

पाल्पाका अन्य स्थानीय तहका बस्तीमा पनि अझैसम्म गाउँका पाकापुस्ता गफिने चियापसलमा चुनावी चर्चा सुरू भएको छैन । नागरिकमा विगतमा नेताले आयआर्जन र रोजगारका साथै जनचाहना अनुसारको विकास निर्माणका काम नगर्दा राजनीतिप्रति वितृष्णा छ । अब भने गाउँका नागरिकमा आगामी निर्वाचनमा कसैको दबाबमा नपरी मतदान गर्ने चेत पलाएको छ ।

अचेल गाउँमा युवाहरू त्यति भेटिँदैनन्, पाको पुस्ता मात्रै छ । यो पुस्ता पनि राजनीति दलका नेताहरू व्यक्तिगत, पारिवारिक स्वार्थमा लागेको भन्दै निराशा व्यक्त गर्दछन् । आफूहरूले गाउँमा विकास, रोजगारी, कृषि क्षेत्रमा परिवर्तन चाहे पनि नेताहरू आफ्नै स्वार्थमा रमाएकाले उनीहरू निराश देखिएका हुन् ।

पुराना दलका नेताहरू सच्चिनुपर्ने अपेक्षा राखेका ग्रामीण भेगका मतदाताले नयाा दलका अनुहारलाई पनि झट्टै विश्वास गरिहाल्ने अवस्था देखेका छैनन् ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।