कांग्रेसको आधिकारिकता विवाद न्यायाधीश पोखरलेको इजलासमा

माघ ६, २०८२ |रासस
कांग्रेसको आधिकारिकता विवाद न्यायाधीश पोखरलेको इजलासमा

काठमाडौं । विशेष महाधिवेशनबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरूद्ध शेरबहादुर देउवा नेतृत्वमा रहेको समूहले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्न मंगलबार पेसी तोकिएको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा पेसी तोकिएको हो । नेपाली कांग्रेस देउवा नेतृत्वको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरूद्ध राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने भन्दै सर्वोच्च अदालत जाने निर्णय गरेको थियो ।

रिट निवेदनमा कांग्रेस नेता देउवा र पूर्णबहादुर खड्काको वारेसले श्रवणकुमार श्रेष्ठले दायर गर्नुभएको रिट निवेदनमा निर्वाचन आयोगको निर्णय बदर, यही माघ ६ गतेको निर्वाचनको उम्मेदवारी रोकिपाऊ र नयाँ निर्वाचित कार्यसमिति अवैधानिक भएको भन्दै भङ्ग गर्न माग गरिएको छ ।

देउवा पक्षले नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नहुने उल्लेख गर्दै विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ । सभापति थापा नेतृत्वले विशेष महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरिसकेको छ ।