
रोल्पा । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले रोल्पाबाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।
मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर पुनले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको हो । पुन २०७४ र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा रोल्पाबाट निर्वाचित हुनु भएको थियो । यसैगरी नेपाली कांग्रेसका तर्फबाट डा. सुदनकुमार ओली र नेकपा (एमाले) का नेता गोकुलप्रसाद घर्तीमगरले पनि प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ ।
एमाले नेता घर्तीमगरको उम्मेदवारी दर्ताका क्रममा एमाले लुम्बिनी प्रदेश सभा सदस्य यमुना रोका तामाङ लगायत नेताहरूको सहभागिता रहेको थियो । अन्य दलतर्फ नेकपा (माओवादी) का चुडामणि ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका बालराम थापा, राष्ट्रिय जनमोर्चाका मेखनाथ विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अमरबहादुर थापा तथा नेशनल रिपब्लिक नेपाल पार्टीका तर्फबाट मनबहादुर घर्तीले पनि उम्मेदवारी दर्ता गराउनु भएको छ ।
त्यस्तै नेकपा केन्द्रीय सदस्य आशबहादुर पुनमगरले र स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ । स्वतन्त्र उम्मेदवारी दिएका पुन २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट सुनछहरी गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।
नेकपा (माओवादी)का केन्द्रीय सदस्यीय समेत रहनु भएका दलबहादुर खत्रीले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ ।