
जनकपुर । मिथिलाका मूर्तिकारलाई यतिबेला विद्याकी देवी सरस्वतीको प्रतिमा बनाउन निकै चटाराे छ ।
आगामी माघ १० गते मनाइने सरस्वती पूजा नजिकिँदै जाँदा विगत वर्षमा झैँ उनीहरू सरस्वतीको प्रतिमा बनाउन व्यस्त छन् । मुर्तिको माग अत्याधिक रहेका कारण जनकपुरलगायत विभिन्न स्थानमा पुसको सुरूवातसँगै सरस्वतीको प्रतिमा बनाउने काम धमाधम चलिरहेको छ ।
अर्थोपार्जन गर्ने उद्देश्यले आफूहरू माटोको कलात्मक प्रतिमा बनाउने गरे पनि मुर्ति निर्माणमा प्रयोग गरिने पराल र माटो पाउन अहिले मुर्तिकारहरूलाई समस्या छ । मिथिला मधेशमा रहेका विद्यालय र क्याम्पसहरूमा माटोको कलात्मक मूर्तिलाई विधिवत रूपमा प्राण प्रतिष्ठा दिई पूजा गर्ने चलन रहेको छ ।
जनकपुर सहरमा मात्र २० जना मुर्तिकारहरूले श्रीपञ्चमीमा २५ लाख बराबरको सरस्वतीको प्रतिमा बेच्ने गर्छन् । यहाँ पच्चीस सयदेखि ५० हजारसम्मको मूर्ति बनाउने गरिन्छ ।