
काठमाडौं । संस्थापन पक्षले सानेपामा केन्द्रीय समिति बैठक गरिरहँदा नेपाली कांग्रेसको विशेष महाधिवशेनको चौथो दिन भृकुटीमण्डमा निर्वाचन प्रक्रिया अघि बढाइएको छ ।
सभापतिमा गगन थापाको उम्मेदवारी परेको छ। सहमतिको प्रयास पनि जारी छ । विशेष महाधिवेशन पक्षधरले संस्थापनलाई ८ बुँदे प्रस्ताव पठाएका छन् । प्रस्तावमा कार्यकारी भूमिकाबाट सभापति देउवा बाहिरिनुपर्ने, प्रधानमन्त्रीको उम्मेदवारमा गगन थापालाई घोषणा गरेर जानुपर्ने र विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने भनिएको छ ।
यस्तै कुनै पनि दलसँग चुनावी गठबन्धन गर्न नहुने, टिकट वितरणका लागि सर्वस्वीकार्य बोर्ड गठन गर्नपर्ने, उम्मेदवारको टिकटमा देउवाले हस्तक्षेप गर्न नपाउने विषय ८ बुँदेमा समेटिएका छन् । चौथो दिन निर्वाचन प्रक्रिया चलिरहँदा महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको मनोनयन परेको छ ।
मतदान राति ८ बजेका लागि सारिएको छ भने मतदान हुने पदहरूमा विद्युतीय मतदान हुने निर्वाचन समितिले जनाएको छ ।