
काठमाडौं । रास्वपाले मतगणना भइरहेकामध्ये १ सय १० स्थानमा अग्रता लिएको छ ।
यसैगरी अघिल्लो संसद्को पहिलो दल नेपाली कांग्रेसले १० स्थानमा अग्रता लिएको छ । एमाले ११ ठाउँमा अगाडि छ भने नेकपा ८ र श्रम संस्कृति पार्टीले ६ स्थानमा अग्रता बनाएको छ । मतगणना भइरहेका काठमाडौंका ७ वटासहित उपत्यकाका ११ वटा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।
काठमाडौं २ मा सुनिल केसी, काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल र काठमाडौं ७ मा गणेश पराजुलीले फराकिलो अग्रता लिनु भएको छ । यसैगरी काठमाडौं ९ मा डीपी अर्याल र काठमाडौं १० मा प्रदीप विष्टले अग्रता कायम गर्नुभएको छ ।
भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता लिएको छ । भक्तपुर १ मा रुकेश रञ्जित र भक्तपुर २ मा राजीव खत्रीले अग्रता लिनुभएको छ । यसैगरी चितवन २ मा सभापति रवि लामिछाने, झापा ५ मा वरिष्ठ नेता बालेन्द्र शाह र झापा २ मा पूर्वउपसभामुख इन्दिरा रानामगरको अग्रता कायमै छ । सर्लाही ४ मा रास्वपाकै अमरेशकुमार सिंह अगाडि हुनुहुन्छ ।