
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीभित्रका सबै मतभेदहरू संवादबाट टुंग्याउनुपर्ने बताउनुभएको छ ।
विशेष महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले पार्टीका समस्याहरू संवादमार्फत टुंग्याइनुपर्ने बताउनुभएको हो । उहाँले कांग्रेस अहिले गम्भीर संकटको मोडमा रहेको उल्लेख गर्नुहुँदै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर विधान सम्मत ढंगले विशेष महाधिवेशन बोलाइदिन आग्रह गर्दागर्दै केन्द्रीय समितिमा आफ्नो बहुमत छ भनेर कार्यकर्ताको मनोभाव अस्वीकार गर्नेहरूका कारण आजको परिस्थिति सिर्जना भएको बताउनु भयो ।
उहाँले वर्तमान विषम् परिस्थितिमा कांग्रेस र भावि पुस्ताको भविष्य सोचेर पार्टीलाई एकताबद्ध राख्न संस्थापन पक्षले त्याग, समर्पण र अग्रगामी निर्णयको नेतृत्व गर्नुपर्ने बताउनु भयो । नेतृत्व हस्तान्तरणका लागि तयार रहन सभापति शेरबहादुर देउवालाई उहाँले आग्रह गर्नुभयो । विशेष महाधिवेशन पक्षधरले पनि पार्टी एकताका लागि आम कार्यकर्ता र पार्टी हितलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।
उहाँले एकताका नाममा पेल्ने, हेप्ने, कारबाही गर्ने वा पार्टीलाई विभाजनतर्फ धकेल्ने कुरा अस्वीकार्य रहेको बताउनुभएकाे छ । कांग्रेस संकटमा परे देश संकटमा पर्ने भएकाले उच्च जिम्मेवारीका साथ अघि बढ्न सबै नेताहरूलाई उहाँले आग्रह गर्नुभयो । विवाद समाधानका लागि वार्ता समिति बनेकाले मंगलबार बेलुकासम्म वार्ता निष्कर्षमा पुर्याउन उहाँले आग्रह गर्नुभयो ।