
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौंमा जारी विशेष महाधिवेशनमा विगतका गल्ती सच्याउने संकल्पहरूसहित दुई कार्यकाल मात्रै प्रधानमन्त्री हुन पाउने प्रस्ताव गरिएको छ ।
महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको सांगठनिक प्रतिवेदनमा विगतको गल्ती सच्याउने र चुनावी गठबन्धन नगर्ने प्रस्ताव पनि गरिएको छ । प्रतिवेदनमा पार्टीको संरचनामा प्रतिनिधित्वमा व्यापक बदलाव ल्याउनुपर्ने प्रस्तावसहित नातावाद रोक्न प्राइमरी इलेक्सन गर्ने भनिएको छ ।
प्रतिवेदनमा एकैपटक श्रीमान र श्रीमती एउटै तहको जनप्रतिनिधि बन्न नपाउने पनि उल्लेख छ । प्रतिवेदनमा सुशासनमा कांग्रेस कहाँ चुक्यो भनेर बुँदागत रुपमा केलाइएको छ । केन्द्रीय कार्यसमितिमा ४० वर्षमुनिको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव छ । केन्द्रीय कार्यसमितिमा ३० वर्षमुनिका २० र ३० देखि ४० वर्षका २० गरी जम्मा ४० जनाको प्रतिनिधित्व रहने व्यवस्था उल्लेख गरिएको छ।
प्रतिवेदनमा प्रदेश कार्यसमितिमा दुबै उमेर समूहका १०/१० जना रहने र जिल्ला, संघीय क्षेत्र, प्रदेशसभा क्षेत्र तथा पालिका कार्यसमितिमा न्यूनतम ६/६ जना रहने व्यवस्था प्रस्ताव गरिएको छ। वडा कार्यसमितिमा पनि न्यूनतम ४/४ जना सो उमेर समूहका सदस्य रहने व्यवस्थागरिएको छ।
समावेशी व्यवस्थालाई स्वीकार्दै प्रतिवेदनमा केन्द्र र प्रदेश महाधिवेशनका प्रतिनिधि हरेक निर्वाचन क्षेत्रबाट न्यूनतम २ महिला र न्यूनतम १ जना ३० वर्षमुनिका सदस्य पर्ने गरी जम्मा ४ जना प्रतिनिधि रहने कुरा उल्लेख गरिएकोछ। ‘बदलिएको देश/बदल्नुपर्ने कांग्रेसः सद्भाव, सुशासन र समुन्नतिको नवीन यात्रा’ शीर्षकको प्रतिवेदनमा भदौ २३ गतेको घटना र २४ गते राष्ट्रव्यापी रूपमा भएको ध्वंशको घटनालाई अलग छुट्याउन, त्यसको निष्पक्ष र वस्तुगत छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।