कांग्रेस दोस्रो विशेष महाधिवेशन : बन्दसत्र सुरू

पुस २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस दोस्रो विशेष महाधिवेशन : बन्दसत्र सुरू

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र सुरू भएको छ । भृकुटीमण्डपमा आइतबारबाट सुरू भएको विशेष महाधिवेशन साेमबारबाट बन्दसत्र चरणमा प्रवेश गरेको हो ।

भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रतिवेदन पेस गर्दै हुनुहुन्छ । बन्द सत्रमा महामन्त्रीद्वय गगन थापाले पनि प्रतिवेदन पेस गर्नुहुनेछ । बन्द सत्रमा छलफलका लागि प्रदेशस्तरीय ७ तथा विदेशस्थित जनसम्पर्क समिति र भ्रातृसंस्था गरी ९ वटा समूह बनाइने छ । 

विधान संशोधनका लागि समिति बनाइने र विधानमै संशोधन गर्ने वा पछि गर्ने गरी संकल्प प्रस्ताव पारित गर्ने विषयमा पनि बन्द सत्रले नै निर्णय गर्ने बताइएको छ । समूहगत छलफल गरेर चार वटा विषयमाथि नीति मन्थन हुनेछ। चार विषयहरू मध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि बृहत् छलफल हुने छ ।

नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने या नगर्ने भन्नेबारे बृहत् छलफल हुनेछ । यदि नेतृत्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया बढाइने विशेष महाधिवेशन प्रचारप्रसार समितिले जनाएको छ । विशेष महाधिवेशनमा प्रतिनिधिको संख्या केहीबेर अघिसम्म २८ सय नाघेको छ। 

साेमबार थप दुई सय जना प्रतिनिधिहरूले नाम दर्ता गराएका हुन् । आइतबार उद्घाटन सत्र चल्दा साँझसम्म दुई हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएका थिए।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.