
काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले आह्वान गरेको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ ।
उक्त महाधिवेशनको मिति दुई दिनमात्र बाँकी रहँदा काठमाडौं उपत्यकाका विभिन्न सडक पार्टीका झण्डाले सिँगारिएका छन् । यही पुस २७ गतेदेखि सुरू हुने विशेष महाधिवेशनस्थल भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा मञ्च निर्माण, हल सजावटलगायतका प्राविधिक पक्षका कामहरू अघि बढाइएको आयोजक समितिले जनाएको छ ।
स्वयंसेवक व्यवस्थापन समितिका संयोजक मनिष कोइरालाले विशेष महाधिवेशनमा करिब एक हजार स्वयंसेवक परिचालन गरिने जानकारी दिनुभयो । “भृकुटीमण्डपमा आजैदेखि मुख्य मञ्च निर्माण सुरू भइसकेको छ”, कोइरालाले भन्नुभयो ।
आयोजकका अनुसार विशेष महाधिवेशनको सन्देश पार्टी कार्यकर्ता र आमनागरिकसम्म पुर्याउने अपेक्षा गरिएको छ । यसैगरी महाधिवेशनमा सहभागिताका लागि देशभरका जिल्लाबाट कांग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरू काठमाडौं आउनेक्रम सुरू भएको आयोजक समितिको भनाइ छ ।
जनपरिचालन समितिका संयोजक जगदिश्वरनरसिंह केसीले उद्घाटन सत्रमा हजारौँको सङ्ख्यामा सहभागिता रहने जानकारी दिनुभयो । कांग्रेसभित्र संस्थापन पक्षको असहमतिका बीच हुन लागेको यो विशेष महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।