सेना, सशस्त्र र प्रहरीको एकस्वर– निर्वाचनलाई भयरहित र सुरक्षित रूपमा सम्पन्न गराउन तयार छौँ

पुस २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
सेना, सशस्त्र र प्रहरीको एकस्वर– निर्वाचनलाई भयरहित र सुरक्षित रूपमा सम्पन्न गराउन तयार छौँ

काठमाडौं । सुरक्षा निकायहरूले २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित र सुरक्षित रूपमा सम्पन्न गराउन पूर्णरूपमा तयार रहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सुरक्षा निकायका प्रतिनिधिहरूले यस्तो जानकारी गराएका हुन् । राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाट निर्वाचनलक्षित एकीकृत सुरक्षा योजना पारित भइसकेको उल्लेख गर्दै उनीहरूको सोही योजनाअनुसार आपसी समन्वय र सहकार्यमार्फत अघि बढिरहेको जानकारी गराए । 

नेपाली सेनाका सहायक रथी मनोज थापाले तोकिएको मितिमा निर्वाचन गर्नु मुलुकको अपरिहार्य आवश्यकता रहेको भन्दै त्यसका लागि नेपाली सेना तयार रहेको बताउनुभयो । उहाँले निर्वाचनको क्रममा हुनसक्ने सुरक्षा खतराहरूको विश्लेषण गरी आवश्यक गृहकार्य भइरहेके समेत उल्लेख गर्नुभयो । 

उहाँले निर्वाचनअगाडि सुरक्षा चुनौती हुनसक्ने वर्गलाई आवश्यक सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिने बताउनु भयो । उहाँले विगतका अधिकांश बारूदी सुरुङ तथा विस्फोटक पदार्थहरू नष्ट भइसकेको भन्दै कहीँकतै फेला परेमा सूचना आदानप्रदानका आधारमा बम डिस्पोजल टोली परिचालन गरिने बताउनु भयो ।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुरर्वेदीले विस्फोटक पदार्थ भेटिनुभन्दा पनि नयाँ बम बनाउने मानसिकता झनै खतरनाक रहेको टिप्पणी गर्नुभयो । उहाँले पेट्रोल बम तथा केमिकल प्रयोग गरी आन्दोलनलाई हिंसात्मक बनाउने प्रवृत्ति राष्ट्रिय सुरक्षाका लागि गम्भीर चुनौती रहेको बताउनुभयो । 

आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिमार्फत लामो तथा छोटो दूरीका गस्तीहरू निरन्तर सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँले आपराधिक गतिविधि नियन्त्रण र फरार कैदीबन्दी खोजीका लागि समिति नै गठन गरी काम भइरहेको बैठकसमक्ष जानकारी समेत गराउनु भयो ।

सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले तीनवटै सुरक्षा निकाय एकीकृत सुरक्षा योजनाको कार्यान्वयनमा सक्रिय रहेको भन्दै निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गरिने बताउनुभयो । उहाँले निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन नेपाल प्रहरीले एक लाख ३४ हजार र सशस्त्र प्रहरीले १५ हजार निर्वाचन प्रहरी थप गर्ने प्रक्रिया सुरू गरिसकेको जानकारी गराउनुभयो ।

सुरक्षा निकायका प्रतिनिधिहरूले आपसी समन्वय, अतिरिक्त जनशक्ति र लक्षित सुरक्षा रणनीतिमार्फत निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय रूपमा सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.