मानवअधिकार आयोगमा आफैं पुगेर ओलीले दिए बयान, ३० भन्दा बढी प्रश्न साेधियाे

पुस २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
मानवअधिकार आयोगमा आफैं पुगेर ओलीले दिए बयान, ३० भन्दा बढी प्रश्न साेधियाे

काठमाडौं । उच्चस्तरीय जाँचबुझ आयोगमा बयानका लागि जान अस्वीकार गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ‌ओलीले राष्ट्रिय मानवअधिकार आयोगमा भने आफैं पुगेर बयान दिनुभएको छ ।

बयानका लागि ओली दिउँसो ४ बजे ललितपुरस्थित मानवअधिकार आयोगको कार्यालय पुग्नुभएको थियो । साढे २ घन्टा लामो बयानमा आयोगका पदाधिकारीहरूले तत्कालीन प्रधानमन्त्री ओलीसँग ३० भन्दा बढी प्रश्नहरू सोधेका थिए । भदौं २३ गतेको जेन-जी आन्दोलनमा भएको दमनमा राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षका रूपमा भूमिकाबारे आयोगले सोधपुछ गरेको हो । 

जेन-जी आन्दोलनमा भएको दमनमा मानवअधिकार हनन् भयो कि भएन भनेर पनि आयोगले तत्कालीन प्रधानमन्त्री ओलीसँग सोधेको थियो। यस्तै २३ गतेपछिका घटनाक्रममा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाबारे पनि सोधिएको थियो । श्रोतका अनुसार ओलीले आफ्नो संलग्नता र निर्देशन नभएको भन्दै बचाउ गर्नुभएको थियो ।

आयोगकी सदस्य लिली थापाले भने साढे २ घन्टासम्मको सोधपुछ सहज र सौहार्दपूर्ण भएको जानकारी दिनुभयो । प्रश्नोत्तरको विषय प्रतिवेदनमै उल्लेख हुने भन्दै ओलीको जवाफबारे केही भन्न चाहनुभएन । भदौं २३ र २४ का घटनामा आयोगले हालसम्म १४६ जनासँग बयान लिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.