पाल्पा । तिनाउ खोलामा कालो लेदो बग्न थालेको सम्बन्धमा अध्ययन प्रतिवेदन तयार भएको छ ।
गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रमा स्थलगत अध्ययन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएअनुसार प्रशासन कार्यालय पाल्पाले एक समिति गठन गरी समस्याको दीर्घकालीन समाधानका लागि उपयुक्त राय सुझावसहितको प्रतिवेदन तयार पारेको हो ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले भू तथा जलाधार कार्यालयका प्रमुखको संयोजकत्वमा गठन गरेको प्राविधिक समितिले गरेको अध्ययनले तिनाउ नदीको मुहान पूर्वखोला गाउँपालिका-४, देवीनगरको उड्डााडामा खसेको सुक्खा पहिरोको विस्तृत अध्ययन र लागत आकलन गर्न सुझाव दिएको छ ।
समितिले दिएको प्रतिवेदनमा संघीय सरकारबाट बजेट व्यवस्थापनका लागि पहल गर्नुपर्ने सुझाव छ । सुक्खा पहिरोबाट आएको माटो तथा चट्टानले तिनाउ नदीको तल्लो तटीय क्षेत्रका बस्ती तथा खेतीयोग्य जमीनमा क्षति पुर्याउने हुँदा जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायमा बजेट व्यस्थापनका लागि पहल गर्नुपर्ने सुभाव छ ।
पहिरोको तल्लो क्षेत्रमा ठूलो गल्छी निर्माण भएको छ । पहिरोले ठूलो आकार लिने सम्भावना नभए तटबन्ध निर्माण गरेमा पहिरोबाट आउने डेब्रिजहरू नियन्त्रण भई तल्लो तटीय क्षेत्रमा कम क्षति हुने देखिने प्रतिवेदनमा छ । तर चेकबाँध निर्माण गर्न लागत धेरै लाग्ने र पहिरोले ठूलो आकार लिएर धेरै गेग्रान धेरै बगेमा संरचनाले धान्न सक्ने अवस्था नदेखिने प्रतिवेदनमा उल्लेख छ ।
अनुगमन तथा पूर्वसूचना प्रणालीअन्तर्गत अनुगमन टोली गठन गर्ने जसमा स्थानीय प्रतिनिधिहरूको समेत सहभागितामा निरन्तर अनुगमन गरी पहिरोको अवस्थाको बारेमा जोखिमयुक्त समुदायलाई निरन्तर जानकारी गराउँदा मानवीय तथा भौतिक क्षति कम हुने प्रतिवेदनमा सुझाव छ । स्थानीय सरकारबाट बजेट व्यवस्थापनमा समस्या हुने भएकाले संघीय र प्रदेश सरकारकै पहल हुनुपर्ने उल्लेख छ ।
यस क्षेत्रमा यसअघि सञ्चालित कोइलाखानीबाट तल्लो तटीय क्षेत्रका बासिन्दा वर्षौदेखि पीडित हुँदै आएका छन् । तिनाउ नदी बग्ने माथागढी-१ चिदीपानी, माथागढी-४, झडेवा कसेनी, तानसेन-९, बगनासकाली-१, २ र ३ का बासिन्दा प्रभावित बनेका छन् ।पछिल्लो दुई महिनायता देवीनगरको ड्डाँडाबाट कालो कोइलासहितको लेदो तिनाउ नदीमा बग्न थालेको हो । जिल्ला प्रशासन कार्यालयले बनाएको अध्ययन समितिले दिएको प्रतिवेदन गृहमन्त्रालय विपद् प्राधिकरणमा पठाएको छ ।