
काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
प्रदेश निर्वाचन कार्यालयमै राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय राखिएको हो । कार्यालयको बुधबार जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत गीता श्रेष्ठले उद्घाटन गर्नुभएको छ । कार्यालय स्थापना भएसँगै राष्ट्रिय सभा निर्वाचनको औपचारिक प्रक्रिया सुरू भएको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाँकाअनुसार बागमती प्रदेशमा दुई जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ । तीमध्ये एक जना महिला र एक जना अन्य समूहबाट निर्वाचित हुनेछन् । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख-उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार बागमती प्रदेश सभाका एक सय १० जना सदस्य र प्रदेशका १३ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख २ सय ३८ जना गरी कुल ३ सय ४८ जना मतदाता रहेका छन् । मतभारको हिसाबले स्थानीय तहका प्रमुख-उपप्रमुखको कुल मतभार ४ हजार ५ सय २२ र प्रदेश सभा सदस्यको मतभार ५ हजार ८ सय ३० गरी जम्मा १० हजार ३ सय ५२ मतभार रहेको छ ।
निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिका-४ स्थित भूटनदेवी माध्यमिक विद्यालयलाई मतदान स्थल तोकिएको छ । जहाँ, दुईवटा मतदान केन्द्र रहनेछन् । बुधबार नै मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरूले मतदान स्थलको निरीक्षण समेत गर्नुभएको छ । निर्वाचनको लागि पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ ।