
काठमाडौं । बागमती प्रदेश सभाको हिउँदे अधिवेशन पुस २१ गतेदेखि बोलाउने तयारी भएको छ ।
भदौ २३ र २४ गते भएको जेन-जी आन्दोनलमा बागमती प्रदेश सभाको जलेको भवनलाई सरसफाइ गरेर हिउँदे अधिवेशन बोलाउने तयारी भएको हो । जेन-जी आन्दोलनपछि बागमती प्रदेशका सभामुख भुवन पाठकले सभामुखबाट राजीनामा दिनुभएको छ ।
प्रदेश सभा सचिवालयका सचिव, समितिका सभापतिहरू र उपसभामुखले सरकारलाई अधिवेशन बोलाउन आग्रह गरेका छन् । यो आग्रहपछि सरकारले पुस २१ देखि २३ गतेसम्म अधिवेशन बोलाउने तयारी गरेको मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले बताउनुभयो ।
बागमती प्रदेश सभाको बैठक बसेको १५ दिनभित्रै प्रदेशको सभामुख चयन गर्नुपर्ने संवैधानिक बाध्यताले मुख्यमन्त्रीलाई अधिवशेन बोलाउन सकस छ । सत्तारुढ दल एमालेसँग सभामुख कसलाई बनाउने भन्ने सहमति जुटाउन मुख्यमन्त्रीलाई चुनौती छ । यता विपक्षी दलहरूले समेत अधिवेशन बोलाउन मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइ सकेका छन् ।