निर्वाचनका लागि ६७ दिन बाँकी, समानुपातिकतर्फको बन्दसूची दलहरूले आज र भोलिसम्ममा बुझाइसक्नु पर्ने

माघ २० गते अन्तिम सूची प्रकाशन गरिने
पुस १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचनका लागि ६७ दिन बाँकी, समानुपातिकतर्फको बन्दसूची दलहरूले आज र भोलिसम्ममा बुझाइसक्नु पर्ने

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ६७ दिन बाँकी रहेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आइतबार र साेमबार दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्नुपर्ने छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दलहरूले यही पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्दसूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिने छ ।

आयोगले पुस २० गतेसम्म बन्दसूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ । पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्दसूची ठिक छ वा छैन भनि हेरिने आयोगले जनाएको छ । माघ ४ गते बन्दसूची प्रकाश गरिनेछ । माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने पनि प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

सयवटा राजनीतिक दलले ९३ चिन्हमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा भाग लिन दल दर्ता गराएका राजनीतिक दलले मात्र आइतबार र साेमबा बन्दसूचीतर्फका उम्मेदवारको सूची पेस गर्न पाउनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.