रवि-बालेन सम्झौताप्रति शंकर पोखरेलको आरोप : ‘नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी’

पुस १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
रवि-बालेन सम्झौताप्रति शंकर पोखरेलको आरोप : ‘नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी’

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहबीच भएको सात बुँदे सम्झौतालाई नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षडयन्त्रको दोस्राे चरणको तयारीको संज्ञा दिनुभएको छ । 

आइतबार सामाजिक सञ्जालमार्फत उहाँले रवि र बालेनबीच भएको सात बुँदे सम्झौतालाई नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षडयन्त्रको दोस्राे चरणको तयारीको संज्ञा दिनुभएको हो । ‘भाद्र २३ र २४ गतेको घटना भू-राजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो ।’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ। ‘अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरू हुँदैछ ।’ पोखरेलले यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुनुपर्ने आवश्यक समेत औंल्याउनु भयो। नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार र सकृय भूमिका खेल्नुपर्ने उहाँको मत छ ।

भाद्र २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवाको हत्या गरिएको भन्दै पोखरेलले त्यसको आडमा भाद्र २४ गते मुलुकको अस्मिता र सामर्थ्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरिएको दाबी गर्नुभएको छ।

रास्वपा र काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी ७ बुँदे सहमति भएको छ । आइतबार बिहान भएको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहनु हुनेछ भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि सारिने भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.