
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहबीचको मिलन कुनै अनौठो नभएको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले रास्वपा सभापति लामिछाने र साहबीचको सहमति राजनीतिमा कुनै अनौठो नरहेको बताउनु भयो । उहाँले राजनीतिमा को-को जुट्छन् र को-को फुट्छन् भन्नेकुरा कांग्रेसलाई चासोको विषयको नभएको बताउनु भयो ।
उहाँले राजनीतिमा फुट्ने र जुट्ने भइरहने भएकाले अनौठो मान्न नहुने बताउनु भयो । राजनीतिमा सबैखाले चुनौती आउने भन्दै हरेक चुनौतीको सामना गरेर आएको कांग्रेसले यसलाई गम्भीर रूपमा लिन आवश्यक नरहेको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘बालेन र रविको सहमतिलाई मैले अनौठो मानेको छैन् । को-को मिल्छन्, को-को जुट्छन्, को-को फुट्छन् । राजनीतिक यात्रामा यो भइरहने हो । त्यसकारण यो अनौठो मान्नुपर्दैन । राजनीतिमा सबै चुनौतीहरू हुन्छन् । राजनीति सरल ढंगबाट अघि बढ्दैन । राजनीति भनेको चुनौती हो । हरेक चुनौतीको सामना गर्न तयार भएको कांग्रेसले राणाकालीन चुनौती, पञ्चायती चुनौती फेस गरेको कारणले अब अहिले आएर को-को मिल्छन् त्यसलाई खासै गम्भीर ढंगले लिएको छैन् ।’
उपसभापति गुरूङले राजनीति सरल ढंगबाट अघि नबढ्ने बताउनु भयो ।