दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितको मधेशमा तयारीको छैन सुरसार

खेलाडी र प्रशिक्षक नै बेखबर
पुस ८, २०८२ |अनिल मिश्र
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितको मधेशमा तयारीको छैन सुरसार

धनुषा । तीन पटक मिति सरे पनि पछिल्लो समय घोषणा भए बमोजिम दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समय नजिकिँदै गएको छ । तर मधेश प्रदेशमा भने तयारीको कुनै सुरसार नै छैन । 

खेलकुद विकासका लागि प्रदेश सरकारले दुई वर्षअघि कानुन बनाए पनि अहिलेसम्म भने कार्यान्वयन हुन सकेको छैन । खेलकुदको विकास पालिका स्तरबाटै हुनुपर्ने भए पनि स्थानीय सरकारलाई त्यसमा चासो नै छैन । मधेश प्रदेशको राजधानी जनकपुरधामको रजौलमा मेयर कप-२०८२ जारी छ । 

बहुउद्देश्यीय रामजानकी स्टेडियम निर्माण हुने भनिएको १३ बिघा क्षेत्रलको यस घेराभित्र आयोजित जनकपुरधाम मेयर कप टी-२० क्रिकेट प्रतियोगीतामा धनुषाका १८ वटै स्थानीय तहका खेलाडीहरू सहभागी छन । जनकपुर चुरोट कारखाना सञ्चालनमा रहेका बेला दुई दशकअघि खेलकुदको क्षेत्रमा मधेश निकै अब्बल मानिन्थ्यो । 

पछिल्लो समय स्वस्थ जीवनका लागि र खेलकुदमा पनि भविष्य सुनिश्चित हुन सक्ने विश्वासका साथ युवाहरू स्वस्फूर्त खेलको नियमित अभ्यासमा जुटिरहेका पनि छन् । उनीहरूले स्थानीय स्तरमा सञ्चालित प्रतियोगिताहरूमा पनि सहभागीता जनाउँदै आएका पनि छन् । तर, कर्णाली प्रदेशमा आयोजन हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीबारे खेलाडीलाई मात्र होइन प्रशिक्षकलाई समेत अहिलेसम्म कुनै जानकारी नै छैन ।

संघीय सरकारले फागुन १ देखि ७ गतेसम्म दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजन हुने मिति तोकेको छ । अब दुई महिना भन्दा थोरै समय बाँकी रहे पनि सरकार बनाउन र खसाउनमै अल्झैको प्रदेश सरकार पनि राष्ट्रिय खेलकुद प्रतियोगिता बारे बेखबर छ। 

खेलकुदको समुचित विकासका लागि २०८१ सालमानै बनाएको खेलकुद विकास ऐन कार्यान्वयनका लागि अहिलेसम्म प्रदेशको सरकारले नियमावली समेत बनाउन सकेको छैन। मधेशको खेलकुद विकासका लागि चालू आर्थिक वर्षमा लगभग २१ करोड विनियोजन गरिएको छ । 

यसका लागि गठित प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा शिवजी प्रसाद गुप्तालगायत पदाधिकारीहरूको नियुक्ति समेत भई सकेको छ। जिल्ला जिल्लामा खेलकुद समितिका अध्यक्ष चयन भइसके पनि लामो समयदेखि रिक्त स्थानमा खेलकुद मन्त्री नियुक्त हुन नस्कनु र नियमावलीको अभावमा बैंक खाता समेत खुल्न नसकेका कारण दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी त के प्रदेश सरकारको सम्पूर्ण खेलकुद विकासको गतिविधिनै ठप्प छ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।