सबा अर्बमा बनेको बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्र तीन वर्षदेखि सञ्चालनको पर्खाइमा

कार्यविधि बने पनि अलमल
पुस २, २०८२ |अमृता अनमोल
सबा अर्बमा बनेको बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्र तीन वर्षदेखि सञ्चालनको पर्खाइमा

रूपन्देही । विकास के का लागि ? तपाईँ भन्नुहोला नागरिकको उपयोगका लागि । तर बुटवलमा भने झन्डै सबा अर्ब लगानीको अत्याधुनिक अन्तराष्ट्रिय सम्मेलन केन्द्र तीन वर्षदेखि सञ्चालनको पर्खाइमा छ । 

यहाँसम्म कि एक वर्षअघि गठन आदेशबाट सञ्चालन कार्यविधि बने पनि सभाहल सञ्चालन कसरी टुंगो लागेको छैन । माल पाएर पनि चाल नपाएको जस्तै भएको छ, बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्र । सम्मेलन केन्द्र बुटवलको रामनगरमा रहेको बुटवल मण्डपको ९ दशमलव ६ बिघा क्षेत्रफलमा फैलिएको छ । 

अत्याधुनिक र सुविधा सम्पन्न यो केन्द्र निर्माण सकिएको तीन वर्ष पुग्यो । तर, नियमित सञ्चालन अझै हुन सकेको छैन् । संघीय सरकारको शहरी विकास मन्त्रालयले सम्मेलन केन्द्र भ्याटसहित एक अर्ब १५ करोड रूपैयाँमा बनाएको हो । 

जहाँ राष्ट्रिय झन्डाको चन्द्र र सूर्य आकारका दुई भवन छन् । एक हजार जना हट्ने गौतमबुद्ध नामक मुख्य सभाहल छ । यससहित १३ वटा साना हलहरू छन् । सम्मेलन केन्द्रको मुख्य हलमा महिनाको दुई-तीन दिन भाडामा जान्छ । तर, साना हल अहिलेसम्म भाडामा लगाउने मापदण्ड नै बनेको छैन ।

बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडेर पर्यटन प्रवर्द्धन गर्न र ग्रेटर लुम्बिनी क्षेत्रभित्र पूर्वाधार विकास गर्न भन्दै बनाइएको अन्तराष्ट्रिय सम्मेलन केन्द्र २०७९ साल भदौ ११ गते उद्घाटन भएको थियो । नियमितजसो ठूला सभा सम्मेलन र गोष्ठी गर्ने लक्ष्य राखिएको सम्मेलन केन्द्र पूर्वपश्चिम राजमार्ग छेउमा छ । व्यवस्थित पार्किङ र सुन्दर सजाबट छ । तर, सञ्चालन नहुँदा संरचना बिग्रदै गएका छन् । 

सम्मेलन केन्द्रको भाडा चलनचल्तीभन्दा धेरै छ । जहाा मुख्य हलको एक दिनको १ लाख ७६ हजार रूपैयाँ भाडा लाग्छ । भाडा धेरै भएका कारण पनि सम्मेलन केन्द्र चलायमान नभएको स्थानीय व्यवसायीहरू बताउँछन् ।बुटवलको यो सम्मेलन केन्द्र काठमाडौं बाहिरको ठूलो र अत्याधुनिक हो । 

बुटवलसँगै काठमाडौंको अन्तराष्ट्रिय सम्मेलन केन्द्र, ललीतपुरको सनराइज सभाहल, काठमाडौंको धरहरा र दमक भ्यू टावरसमेत सञ्चालनमा समस्या भएपछि संघीय सरकारले गत वर्ष विशिष्ठ संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बनाएको थियो । 

समितिले बुटवल सम्मेलन केन्द्रसहित ठूला सभाहल सञ्चालनका लागि अध्ययन थालेको थियो । तर, अहिलेसम्म सम्मेलन केन्द्र कसरी सञ्चालन गर्ने निर्णय भएको छैन । यसले बुटवलसहित देशका ठूला सभा सम्मेलनमा राज्यको लगानी बालुवामा पानी जस्तै भएको छ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।