
काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ।
बुधबार बिहान दस बजेदेखि सुरू भएको मतदान रातभरि चल्नेछ । एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी निर्वाचनमा अहिलेसम्ममा ८ सय २० मत खसेको छ । एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले छिटो मतदान गर्नेले ९ मिनेट र ढिला गर्नेले २ घन्टा ४ मिनेटसम्म लगाएको बताउनुभएको छ ।
एमाले निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलले प्रेस ब्रिफिङका क्रममा सामान्यतया मतदान सकाउन एक जनालाई ३० देखि ३५ मिनेटसम्म लाग्ने गरेको जानकारी दिनुभयो । उपाध्यक्ष पोखरेलकाअनुसार मतदान बीचमा रोक्न नमिल्ने भएकाले रातभर चल्ने छ । मतदानमा ८० वटा मेसिन प्रयोग गरिएको जनाउँदै उहाँले अहिलेसम्म कुनै पनि मेसिनमा समस्या नआएको जानकारी पनि दिनुभयो ।
मतदानका लागि हलभित्र प्रवेशको समय राति ८ बजेसम्मका लागि थप गरिएको छ । बिहान मतदान सुरू हुँदा मतदानका लागि भित्र प्रवेश गरिसक्नु पर्ने समय साँझ पाँच बजेसम्म तोकिएको थियो । ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि २ हजार २ सय ६३ प्रतिनिधिले मतदान गर्दैछन् ।
बिहान सुरूमै मतदान गरेका अध्यक्षका प्रतिस्पर्धी केपी शर्मा ओली र ईश्वर पोखरेलले नै मत खसाल्न आधा घन्टाभन्दा बढी समय लगाउनुभएको थियो । दुबै नेता प्यानल नै बनाएर नेतृत्वको प्रतिस्पर्धामा छन् । काठमाडौंको भृकुटीमण्डपमा नयाँ नेतृत्वका लागि १९ पदाधिकारीसहित ३ सय १ जना केन्द्रीय सदस्यको निर्वाचन हुँदैछ ।
एमालेमा १९ पदाधिकारीसहित ३ सय १ जना केन्द्रीय सदस्यका लागि ६ सय ४४ जनाले उम्मेदवारी दिएका छन् ।