गण्डकी प्रदेश : न्यायिक समितिमा एक वर्षमा एक हजार ७८९ उजुरी दर्ता

पुस २, २०८२ |कान्तिपुर टीभी संवाददाता
गण्डकी प्रदेश : न्यायिक समितिमा एक वर्षमा एक हजार ७८९ उजुरी दर्ता

बागलुङ । गण्डकी प्रदेशभर न्यायिक समितिमा एक वर्षमा एक हजार ७ सय ८९ वटा उजुरी दर्ता भएका छन । 

गण्डकी प्रदेशका ८५ वटा पालिकामा आर्थिक वर्ष २०८१/८२ मा यी उजुरी परेको बुधबार बागलुङमा गण्डकी प्रदेश न्यायिक समित दर्पण पुस्तकको विमोचनका क्रममा जानकारी दिइएको छ ।

उजुरीमध्ये एक हजार ३९४ वटा फर्छ्यौट भएका र ३९५ वटा फर्छ्यौट हुन बाँकी रहेका छन्। उजुरी मध्ये ८०५ वटा मेलमिलाप भएका, ३३६ वटा फैसला भएका, २१४ वटा तामेलीमा रहेका र मेलमिलाप नभइ अदालतमा पठाएका ३९ वटा रहेको जनाइएको छ । 

गण्डकी प्रदेशका न्यायिक समितिमा सबैभन्दा बढी घरजग्गा साँध सीमानामा ३५९, माना चामलमा २१३, लेनदेनमा १४५ र ज्याला मजदुरीका १०२ वटा उजुरी परेका हुन् । त्यसैगरि कुटपिटका ९४, बाटो प्रयोग गर्न नदिएको ८५, जग्गा आवाद ७८,ज्येष्ठ नागरिक सम्बन्धी ४२, पानीघाट ४१, घरभाडा ३८, घरेलु हिंसाका २८, सार्वजनिक जग्गा विवाद २७, बालबालिकासम्बन्धी २२ वटा र अन्य ५८२ वटा विवादका उजुरी दर्ता भएका छन् । 

गण्डकी प्रदेशका ८५ वटा पालिकामा २०७४ सालदेखि २०८२ असारसम्म कुल ११ हजार ९२३ वटा विवादका उजुरी परेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.