
काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ।
मंगलबार बारम्बार समय सारेर एमालेले बुधबार बिहान साढे ८ बजेपछि मतदान सुरू गरेको हो । सुरूमै मतदान गरेका अध्यक्षका प्रतिस्पर्धी केपी शर्मा ओली र ईश्वर पोखरेलले नै मत खसाल्न आधा घन्टाभन्दा बढी समय लगाउनुभएको छ । दुबै नेता प्यानल नै बनाएर प्रतिस्पर्धामा छन् ।
काठमाडौंको भृकुटीमण्डपमा नयाँ नेतृत्वका लागि १९ पदाधिकारीसहित ३ सय १ जना केन्द्रीय सदस्यको निर्वाचन हुँदैछ । मतदानका लागि ८० ठाउँमा विद्युतीय मतपत्र राखिएको छ । बाहिर पूर्वअभ्यासका लागि १० वटा नमुना मतपत्र राखिएको छ ।
प्यानलगत धेरै उम्मेदवार हुँदा एक प्रतिनिधिलाई मत खसाल्न आधा घन्टाभन्दा बढी समय लागेको छ । एमालेमा १९ पदाधिकारीसहित ३ सय १ जना केन्द्रीय सदस्यका लागि ६ सय ४४ जनाले उम्मेदवारी दिएका छन् ।