
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान समस्यालाई निकास दिन आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन नै उच्चतम विधि भएको बताउनुभएको छ ।
सोमबार टुँडिखेलमा काठमाडौं महानगरपालिकाको महानगर दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकसामु धेरै समस्याहरू रहेको उल्लेख गर्नुहुँदै युवा पुस्ताले चाहेको परिवर्तनको चाहनालाई मूर्तरूप दिन प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिनुको विकल्प नभएको बताउनु भयो ।
सामाजिक न्यायसहित सुशासनका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी बन्न उहाँले आह्वान गर्नुभयो । देश विकासमा मिलेर समर्पित हुन उहाँले आग्रह समेत गर्नुभयो । इतिहासबाट अनुभव, पाठ र शिक्षा लिएर वर्तमानको चाहना र आवश्यकता सम्बोधन गरी भावी सन्ततिलाई समृद्ध नेपाल सुम्पन्ने दायित्व रहेको उहाँकाे भनाइ थियाे । नविन सोच, शैली र योजना तथा त्यसलाई पूरा गर्न दृढ अठोट, उर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो रहेको उहाँले बताउनु भयो ।
राष्ट्रपति पौडेलले सहरी सुव्यवस्थापन, नदी तथा जल प्रणाली, हरियाली प्रवर्द्धनसहित प्राकृतिक सम्पदा, मठमन्दिर, तलाउ, पोखरी, ढुङ्गेधारा, भौतिक सम्पदाको अस्तित्व पुनःस्थापना, एकीकृत सहरी विकासको प्रयास महानगरपालिकाका उदाहरणीय काम भएको बताउनु भयो ।