जेन-जी विद्रोहमाथि दमन गर्नेहरूलाई अन्तर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गर्छौं : गृहमन्त्री अर्याल

मंसिर २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी विद्रोहमाथि दमन गर्नेहरूलाई अन्तर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गर्छौं : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी विद्रोहमाथि दमन गर्नेहर"लाई राज्य प्रणालीभित्रबाट मात्रै नभई अन्तरराष्ट्रिय रूपमा समेत घेराबन्दी गर्ने बताउनुभएको छ ।

मंगलबार जेन-जी शहीदहरूको सम्झनामा काठमाडौंमा आयोजित दीप प्रज्वलन कार्यक्रममा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । उहाँले जेन-जी घाइते तथा शहीदका मागहरू पूरा गर्दै कारबाहीका विषयमा दृढतापूर्वक अघि बढ्ने बताउनु भयो । सत्तामा बसेकाहरू कुशासनको अभियन्ता बनेकै कारण जेन-जी विद्रोह भएको उहाँको तर्क छ । 

उहाँले शहीदको सपनाअनुसार सरकार सुशासनको अभियन्ता बनेर अगाडि बढिरहेको बताउनु भयो । उहाँले मुलुकमा सुशासन कायम गर्न सरकार लागिपरेको उल्लेख गर्दै केही कमजोरी देखिए औंल्याउन समेत आग्रह गर्नुभयो । उहाँले जेन-जी विद्रोह र सरकारी दमनको विषयमा जाँचबुझ आयोगका साथै प्रहरी र मानव अधिकार आयोगले समेत अनुसन्धान गरिरहेको भन्दै ढिलो चाँडो कारबाहीको दायरामा ल्याइने जिकिर गर्नुभयो ।

उहाँले नागरिक सरकार गठन भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई काम गर्ने वातावरण बनेको दाबी पनि गर्नुभयो । उहाँले पर्दा पछाडी बसेर नेताहरूलाई नचाउँदै जनतालाई दुःख दिने केही तत्वहरू कारबाहीको दायरामा ल्याइसकिएको पनि बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.