एनपीएल : नरेन भट्टद्वारा प्रतियोगिताकै उत्कृष्ट क्याच

मंसिर २३, २०८२ |खेल ब्युरो
एनपीएल : नरेन भट्टद्वारा प्रतियोगिताकै उत्कृष्ट क्याच

काठमाडौं । सुदूरपश्चिमविरूद्धको खेलमा विराटनगरका नरेन भट्टले सानदार बाउन्ड्री क्याच लिएका छन्। 

इशान पाण्डेलाई आउट गराउने क्रममा उनले प्रतियोगिताकै उत्कृष्ट क्याच लिएका हुन्। खेलको १३औं ओभरमा इशान पाण्डे र विनोद भण्डारीले इनिङ अघि बढाइरहेका थिए। १२ दशमलव चार ओभरमा ९२ रन बनाएको अवस्थामा सुदूर मध्यम स्कोरतर्फ अघि बढिरहेको थियो। 

बलिङमा रहेका साम हेजलेटको बललाई इशानले लङअफमा प्रहार गरेका थिए। यतिबेला लङअफमा कुनै फिल्डर थिएनन्। तर काउ कर्नर नजिकै रहेका नरेन भट्ट १० मिटरजति दौडिएर असंभवजस्तै देखिने क्याच लिन तयार देखिए। बाउन्ड्रीमा शरिर नियन्त्रणमा नहुँदा पनि उनले बललाई प्लेमै रहने गरी हावामा फर्काएर बाउन्ड्रीबाहिर हुत्तिएका थिए। तर तत्कालै फर्किएर फेरी बल समामाउँदै विकेट लिन सफल भएका थिए ।

यस्तै क्याचभन्दा केही फरक खालको बाउन्ड्री क्याचबारे भर्खरै मात्र आईसीसीले नियम परिवर्तन गरेको छ। त्यसैले तेस्रो अम्पायरले उनको क्याचलाई मान्यता दिन केही समय लगाएका थिए। केही समयअघि आईसीसीले बाउन्ड्री बाहिर शरिर हावामै रहँदा बल समाएर फेरी भित्र फालेर बाउन्ड्री भित्र गरिने क्याचलाई मान्यता नदिने निर्णय गरेको थियो। तर नरेनको क्याच त्यो भन्दा फरक क्याच हो। जारी प्रतियोगितामा यस्तो बाउन्ड्री क्याच पहिलो हो।