
काठमाडौं । भदौ २३ र २४ को घटनासम्बन्धी छानबिन गर्न गठित जाँचबुझ आयोगले सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग बयान लिएको छ ।
भदौ २३ गतेको जेन-जी आन्दोलन, २४ गते उत्पन्न अवस्था, नयाँ बानेश्वरमा भएको सुरक्षा समन्वय अभाव, ती घटनामा सशस्त्र प्रहरीको भूमिका लगायतका विषयमा आयोगले अर्यालसँग बयान लिएको हो । जाँचबुझको ७० प्रतिशत काम सकिएको बताएको आयोगले हाल प्रहरीका उच्च अधिकारीहरूको बयान लिइरहेको छ।
आयोगले एक साताभित्रमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रधानसेनापति अशोकराज सिग्देल र तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीलाई बयानका लागि बोलाउने तयारी गरेको छ । प्रशासन र सुरक्षा निकायका अधिकारीहरूको बयानपछि राजनीतिक नेतृत्वतर्फ अघि बढ्ने आयोगको तयारी छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्र रमेश लेखक बयान दिन नआए र आयोगले सहयोग मागे सरकारले सहयोग गर्ने गृह मन्त्रालयको भनाइ छ। गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगले लिखित रूपमा सहयोग मागे सहयोग गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
आयोगले तत्कालीन मुख्यसचिव एकनारायण अर्याल, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छबि रिजाल, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुत्तराज थापा, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ तथा भदौ २२ र २३ गते फिल्डमा खटिने प्रहरीको बयान लिइसकेको छ ।