
काठमाडाैं । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो १० वर्षमा स्वास्थ्य तथा शिक्षाजस्ता आधारभुत क्षेत्रमा बजेट घटेको बताउनुभएको छ ।
काठमाडौंमा बिहीवार आयोजित कार्यक्रममा मन्त्री खनालले स्वास्थ्य क्षेत्रमा बजेट कटौती हुनु राम्रो नभएको बताउनुभएको छ । देशको समग्र राजश्व संरचनामा वृद्धि भएपनि स्वास्थ्य तथा शिक्षा क्षेत्रमा बजेट घटेको उहाँको भनाई छ ।
स्वास्थ्य क्षेत्रमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा सरकारी संयन्त्रबीच आवश्यक सहकार्य नभएको कारण बजेट घटेको हुनसक्ने उहाँले बताउनु भयो । यसलाई एकैपटकमा सुधार गर्न नसकिने भन्दै स्वास्थ्य बीमा भुक्तानीको जिम्मेवारी सरकारले लिनुपर्ने पनि बताउनु भयो ।
स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बाँकी रहेको भुक्तानी गर्नुपर्ने पक्षमा आफू रहेको उहाँको भनाई छ । स्वास्थ्यमन्त्रीलाई सबै भुक्तानी छिटो पूरा गर्ने प्रक्रियाका लागि आग्रह गरेको उहाँले जानकारी दिनुभयो । विगतका सरकारले रोक्यो भनेर अहिलेको सरकारले रोक्न नमिल्ने उहाँको भनाई छ ।
उहाँले स्वास्थ्य बीमा आवश्यक छ वा छैन भन्ने विषयमा भने पुनर्विचार गर्नुपर्नेमा जोड दिनुभयो । राज्यले धान्न नसक्ने संरचना राख्न नहुने उहाँको भनाई छ । उहाँले स्वास्थ्य संस्थालाई पर्याप्त वित्तीय पहुँच पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले अर्थमन्त्रालयले बिना कारण स्वास्थ्य क्षेत्रको बजेट काट्न नमिल्ने बताउनु भयो । यद्यपि माग्ने बित्तिकै बजेट नपाइने उल्लेख गर्नुभयो । उहाँले राष्ट्रको स्रोत सदुपयोग गर्न सबैले ध्यान दिनुपर्ने बताउनु भयो ।