
काठमाडौं । थाइल्यान्ड र कम्बोडियाबीच पुनः सीमा क्षेत्रमा झडप सुरू भएको छ ।
गत अक्टोबरमा अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको उपस्थितिमा भएको शान्ति सम्झौताका वाबजूद दुवै पक्षबीच पुनः झडप सुरू भएको हो । थाइ सेनाका प्रवक्ताले विज्ञप्ति जारी गर्दै सीमा क्षेत्रमा आफ्ना सैनिक मारिएपछि कम्बोडियालाई जवाफ दिन विमान परिचालन गरिएको जनाएको छ । कम्बोडियाका तर्फबाट भएको आक्रमणबाट ८ जना घाइते भएको थाइ सेनाको दाबी छ ।
उता, कम्बोडियाको सेनाले पनि बिहान ५ बजे थाइ सेनाले पहिलो आक्रमण गरेको र ४ सर्वसाधारण मारिएको दाबी गरेको छ । सीमावर्ती ओड्डार मेनाचे र प्रेह बिहार प्रान्तमा भएका आक्रमणमा अन्य १० जना घाइते भएको कम्बोडियाले जनाएको छ ।
गत अक्टोबरमा मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमको मध्यस्थता र ट्रम्पको उपस्थितिमा दुवै देशबीच विस्तारित शान्ति सम्झौता भए पनि गत महिना थाइल्यान्डले सम्झौता रद्दको घोषणा गरेको थियो । गत जुलाईमा भएको ५ दिन लामो झडपमा ४८ जना मारिएका थिए भने ३ लाख विस्थापित भएका थिए ।
झडपपछि सीमावर्ती क्षेत्रका नागरिक पुनः विस्थापित भएका छन् । थाइ सेनाका अनुसार हालसम्म ३५ हजारभन्दा बढी नागरिक विस्थापित भएका छन् । कम्बोडियाको ओड्डार मेनाचेमा पनि कम्तिमा ११ सय स्थानीय सुरक्षित स्थानतर्फ लागेका छन् ।