
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले चलचित्र क्षेत्रमा बैंक ऋण तथा वैदेशिक लगानी बढाउन सहज हुने गरी चलचित्र विधेयकलाई समृद्ध बनाउन आग्रह गर्नुभएको छ ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा चलचित्र विधेयकमाथिको छलफलमा बोल्दै अध्यक्ष दाहालले प्रष्ट नीतिको अभावमा चलचित्र क्षेत्रले समस्या झेल्नुपरेका कारण विधेयकलाई छिटो टुंगोमा पुर्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले बैंकहरूले चलचित्रलाई बौद्धिक सम्पत्ति धितोका रुपमा मान्यता नदिँदा उद्योग नै जोखिममा परेको बताउनु भयो ।
चलचित्रमा लगानी जोखिमपूर्ण हुने सोचका कारण बैंकहरूले ऋण दिन आनाकानी गर्ने अवस्था रहेको बताउँदै उहाँले यसलाई केही सरल बनाउनुपर्ने सुझाव दिनुभयो । उहाँले चलचित्र पूर्णरूपमा सांस्कृतिक सामग्री मात्र नभई सञ्चारको शक्तिशाली माध्यम भएको उल्लेख गर्दै मातृभाषामा बनेका चलचित्रका लागि बोर्डले सेन्सर शुल्क हटाउनेगरी काम गरिरहेको पनि बताउनु भयो ।
उहाँले चलचित्र क्षेत्रमार्फत पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेगरी सरोकारवालाको सुझावहरू समेत समेटेर थप समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।