
बुटवल । भारत उत्तरप्रदेशको बलरामपुर जिल्लामा नेपाली सवार बस ट्रकसँग ठोक्किएर आगो लागेको छ ।
आगोमा जलेर बसमा सवार तीन जनाको मृत्यु पुष्टि भएको छ । बसमा रहेका २४ नेपाली घाइते भएका छन् भने ६ जनाको अवस्था गम्भीर छ । मृतकको पहिचान अहिलेसम्म खुल्न सकेको छैन । यूपी २२ एटी ०२४५ नम्बरको बस र यूपी २१ डीटी ५२३७ नम्बरको ट्रक मंगलबार बिहान करिब साढे २ बजेतिर कोतवाली देहात थाना क्षेत्रको फुलबरिया सडकमा ठोक्किएका हुन् ।
बस करिब १ सय मिटरसम्म घिस्रिँदै गएर हाइटेन्सन लाइनको बिजुलीको खम्बासँग ठोक्किएको थियो । खम्बा भाँचिएर बसमाथि खस्दा करेन्ट फैलिएको र आगो लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बस नेपाल-भारत सिमाना नजिकको सुनौलीबाट नयाँदिल्लीतर्फ जाँदै थियो । बसमा ४५ यात्रु सवार थिए भने तीमध्ये अधिकांश नेपाली रहेको दैनिक भाष्करले जनाएको छ । जसमध्ये अधिकांश बुटवल बस्ने तथा बुटवल घर भएका यात्रु छन् ।