सातौँ अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालमा मनाइँदै

मंसिर १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
सातौँ अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालमा मनाइँदै

काठमाडौं । सातौँ अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालमा मनाइने भएको छ । 

हरेक वर्ष लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत १४औँ दिन (डिसेम्बर ८) तारिखका दिन विश्वभर अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइन्छ । दक्षिण गोलाद्र्धीय मर्यादित महिनावारी सञ्जाल र राधा पौडेल फाउन्डेसनको संयोजनमा ‘राष्ट्रिय युवा परिषद् तथा मेन इन्गेज अलायन्स (ग्लोबल)’ को सह-आयोजनामा ‘अन्तरराष्ट्रिय मर्यादित महिनावारी लर्निङ कन्फरेन्स-२०२५’ हुने भएको हो । 

साेमबार पत्रकार सम्मेलनमार्फत सम्मेलन सञ्जालका प्रेस सल्लाहकार गोविन्द खड्काले यही डिसेम्बर ८ देखि १० गतेसम्म तीनदिने सम्मेलन काठमाडौंमा आयोजना हुने जानकारी गराउनुभयो । यस वर्ष पनि ‘मर्यादा समानता मानव अधिकारका लागि मर्यादित महिनावारी’ नारासहित सातौँ अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालसहित विश्वभरि मनाइने भएको हो ।

सम्मेलनमा नेपालसहित २१ देशबाट १४० भन्दा बढी प्रतिनिधि, विशेषज्ञ, नीति निर्माता, युवा तथा सरोकारवालाको उपस्थितिमा १२ विषयगत सत्र सञ्चालन हुनेछन् । सम्मेलनमा प्रस्तुतीकरण सत्र, प्यानल छलफल, प्लेनरी सत्र, कार्यशाला रणनीति तथा कार्य समूह गठन सत्रका रुपमा छलफल गरिनेछ ।

त्यसैगरी नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, बेनिन, भूटान, बुल्गेरिया, क्यामरुन, कङ्गो, फ्रान्स, जर्मनी, गिनिया, भारत, इटाली, आइवरी कोस्ट, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, स्पेन, टोगों र अमेरिकाका प्रतिनिधिको सम्मेलनमा सहभागिता रहनेछ ।

‘राधा पौडेल फाउन्डेसन’की संस्थापक राधा पौडेलले यो सम्मेलनले ‘महिनावारी विभेद लैङ्गिक हिंसा हो, मानव अधिकारको उल्लङ्घन हो र महिनावारी विभेद विश्वभरि छ’ भन्ने सन्देशलाई समग्र रूपमा प्रवर्द्धन गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो सम्मेलनले महिनावारीलाई मर्यादासँग जोडेर विश्वव्यापी रूपमा नीतिगत बहसलाई अगाडि बढाउने, अनुभव आदान-प्रदान गर्ने, प्रमाण-आधारित समाधान खोज्ने र सहकार्य सुदृढीकरणमा ऐतिहासिक टेवा पुर्‍याउने अपेक्षा गरेको छ ।”

नेपाल सरकारको नेतृत्व र समन्वयमा नेपालबाट सुरू भएको यो दिवस आज विश्वका ७० भन्दा बढी देशमा मनाइने एउटा महत्वपूर्ण अन्तरराष्ट्रिय अभियानका रूपमा स्थापित भइसकेको छ ।-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.